धनगढी, १ मंसिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराका सभापति कर्ण मल्लसहितको समूहले पार्टी केन्द्रीय कार्यालय सानेपामा अनसन सुरु गरेको छ ।
डडेल्धुराको क्रियाशील सदस्यतामा धाँधली गरेको र शक्तिको दुरुपयोग गर्दै अधिवेशन गरेको भन्दै उनीहरूले अनसन सुरु गरेका हुन् । डडेल्धुरामा काँग्रेसले भदौ २५ गते वडा र असोज ९ गते पालिका अधिवेशन गरेको थियो ।
‘हामी बहुमत सदस्यहरूले अधिवेशन स्थगित गरेपछि शक्तिको दुरुपयोग गरेर हामीलाई समेत समावेश नगरी भएको धाँधलीलाई अधिवेशनलाई मान्न सकिन्न’ मल्लले भने, ‘हामीले पटक–पटक यस विषयमा आवाज उठाउँदा पनि केन्द्रको चासो नपुगेपछि हामी बाध्य भएर यहाँ आएका हौँ ।’
निर्वाचन समितिले आफ्नो मागको सुनुवाइ नगरेपछि मल्लको टोली सानेपामा रिले अनसन बसेको हो ।
जिल्ला सभापति मल्लसहित अनसनमा नेविसंघका पूर्वअध्यक्ष केशव सिंह, उपसभापति करुणाकर भट्ट, पूर्व जिल्ला सभापति पदम भट्ट, महाधिवेशन प्रतिनिधि हरि भट्ट, भागेश्वर गाउँपालिका पूर्वसभापति नरबहादुर ठकुराठी र परशुराम नगरपालिका १२ का पूर्व सभापति राजबहादुर भण्डारीलगायत सहभागी छन् ।
यस्तै जिल्ला नेताहरू नेता भोजराज भट्ट, लोकराज भट्ट, गोकुल शाही, सन्तोष देउवा, भुवन भट्ट र नवदुर्गा ४ का पूर्व वडा सभापति रमेश ऐरलगायत पनि रिले अनसन बसेका छन् । डडेल्धुरा जिल्ला सभापतिका उम्मेदवार भीमबहादुर साउद समूहले जिल्ला सभापति मल्ल नै महाधिवेशन प्रतिनिधि पराजित हुने भएपछि अनसनको नाटक भइरहेको बताएको छ ।
यसअघि मल्ल समूहले अधिवेशन प्रक्रिया बहिस्कार गरेर डडेल्धुरामा पनि रिले अनसन सुरु गरेको थियो । ‘११ दिन अनसन गरेर दबाब दिइरहेका थियौँ’ मल्लले भने, ‘केन्द्रीय नेतृत्वले माग सम्बोधन गर्न चासो दिएपछि हामीले आन्दोलन फिर्ता गरेका हौँ । ’
डडेल्धुराको रिले अनसन तोड्न वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरू अर्जुननरसिंह केसी, शेखर कोइराला र गुरुराज घिमिरे डडेल्धुरा पुगेका थिए । पहिलो चरणका आन्दोलनबाट माग सम्बोधन नभएपछि दोस्रो चरणको आन्दोलन स्वरूप केन्द्रीय कार्यालयमा अनसन सुरु गरेको मल्लले बताए ।