धनगढी, २७ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा संस्थापन समूहले अधिवेशन गरेको भन्दै अर्को पक्षले विरोध जनाउँदै आएको छ।
निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो। समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर तीन गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ। वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ। ‘डडेल्धुराको हकमा निर्वाचन समिति एक मत छ, समितिमा उजुरीहरू परेका छन्। हामीले त्यसमा छलफल गरेर टुंगो लगाइसकेका छौं,’ समिति सदस्य तेजबहादुर रावलले भने, ‘अब डडेल्धुरामा फेरि वडा अधिवेशन हुँदैन। बाँकी अधिवेशनका प्रक्रियाहरू कार्यतालिका अनुसार अगाडि बढ्छ।’
डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षको छ। सभापति मल्ललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन छ। आफूहरूको बहिस्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढाइएको भन्दै जिल्ला सभापति मल्लले केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका छन्। तर निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो।
पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मतरुपमा डडेल्धुरा जिल्लाको जारी अधिवेशनलाई वैधता दिएको हो। निर्वाचन समितिको निर्णयविरुद्ध जिल्ला सभापति मल्ल पक्ष आन्दोलनमा छ।
समितिले वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ मा अधिवेशनको मिति तोकेको छ। १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ। कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ।
