काठमाडौं, २२ कार्तिक । सरकारले शिक्षकहरूका लागि छुट्टै अस्पताल बनाउने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्रीस्तरीय निर्णय गर्दै अस्पताल निर्माण गर्ने ठाउँ खोज्नका लागि समितिसमेत गठन गरिसकेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षक अस्पताल बनाउने जग्गा व्यवस्थापनका लागि विमल चालिसेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको जानकारी दिए।
समितिमा शिक्षक तथा मन्त्रालयका कर्मचारी रहेका छन्। समितिलाई दुई महिनाभित्र जग्गा खोज्न समय दिइएको छ।
समितिले देशका विभिन्न क्षेत्रमा पुगेर जग्गा हेर्न र त्यसको विवरण मन्त्रालयलाई बुझाउने भएको छ। काठमाडौं, चितवनलगायत ठाउँमा जग्गा खोज्ने तयारी छ।
शिक्षक अस्पताल बनेपछि देशभरका करिब ३ लाख शिक्षक लाभान्वित हुने मन्त्रालयले जनाएको छ। अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत् शिक्षक अस्पताल बनाउन बजेटको व्यवस्था गरेका थिए।