धनगढी, १७ कार्तिक । कार्यवहाक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको निरीक्षण गरेका छन्।
खाणले सुदूरपश्चिमका बैतडी, बझाङ, डडेल्धुरालगायत जिल्ला पुगेर बुधबार बाढीपहिरो प्रभावित क्षेत्र निरीक्षण गरेका थिए भने स्थानीय बासिन्दासँग भेटेर अन्तर्क्रियासमेत गरेका थिए।
कात्तिकमा आएको बाढीपहिरोले सुदूरपश्चिमका जिल्लाहरूमा प्रभावित बनाएको थियो।
बाढीपहिरो र डुबानले जनधनको क्षतिसमेत भएको थियो। सरकारले बाढीपहिरो र डुबानपीडितलाई राहतको घोषणासमेत गरेको छ।
खाणले बाढी प्रभावित समुदायको सहयोगका लागि सरकारले विशेष व्यवस्था गर्ने बताए।
‘बाढी पहिरोबाट पीडित नागरिकको पुनःस्थापनाका लागि विशेष राहत कोष बनाएर सरकारले काम अघि बढाउँछ। साथै प्रभावित क्षेत्रका नागरिकको छिट्टै राहत प्याकेज ल्याउनेछौँ,’ गृहमन्त्री खाणले भने।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सुदूरपश्चिमका विभिन्न जिल्ला पुगेर बाढीपहिरो र डुबान प्रभावितसँग कुराकानी र उक्त क्षेत्रको निरीक्षण गरेका थिए।