महेन्द्रनगर, ११ कार्तिक । नेकपा (एस) का अध्यक्ष माधवकुमार नेपालले एमालेको अस्तित्व सकिएको घोषणा गरेका छन् । बिहीबार महेन्द्रनगरमा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको पार्टीको भबिष्य नभएको बताएका हुन् ।
‘केपी ओली एक्लिएका छन्, उनको भविष्य छैन्,’ उनले कार्यकर्ताहरुलाई उत्साहित हुने ढंगले भने, ‘नेता तथा जनता हाम्रो साथमा छन्, हाम्रो पार्टीको भविष्य उज्वल छ ।’
सोही समारोहमा अध्यक्ष नेपालले नागरिक उड्डयन तथा पर्यटन मन्त्री प्रेम आलेलाई सुदूरपश्चिमका सम्पूर्ण एयरपोर्ट सञ्चालनमा ल्याउन निर्देशन दिए । ‘प्रत्येक एयरपोर्ट निर्माण गरेर विमान उड्ने बनाउनुस,’ उनले भने, ‘महेन्द्रनगर बिमानस्थल सञ्चालनमा आउनेछ ।’
अध्यक्ष नेपालले जनताका आवाजलाई बुलन्द गर्न पार्टीका नेता –कार्यकर्तालाई निर्देशन समेत दिए । ‘कञ्चनपुरका आरक्ष पीडित, सुकुम्बासी र पिछडिएका परिवारको समस्यामा साथ दिनुहोस्,’ उनले भने, ‘जनता र देशभन्दा माथि हाम्रो स्वार्थ छैन ।’