धनगढी १ कात्तिक/ आइतबार बेलुकीदेखि परेको अविरल वर्षाका कारण सुदूरपश्चिमका किसान मर्कामा परेका छन् । बर्खे बाली धान काटेर भिœयाउनै लाग्दा परेको पानीले खेतमै धान भिजेका छन् । धान भिजेपछि किसान अहिले चिन्तित परेका छन् । दशैं अघि धान काटेर सुकाउन गह्रामै राखेका किसानको धानबाली भिज्दा चिन्तित बनेका हुन् ।
वर्षात्का कारण खासगरी कैलाली र कञ्चनपुरमा काटेर भित्र्याउन ठीक्क पारेको धानबालीलाई ठूलो नोक्सानी पुर्याएको छ । लगातार पानी परिरहेकाले धान काटेर सुकाउनका लागि गह्रामा राखिएको धान तैरिरहेको छ । ‘दशैमा धान काटेर सुकाउन खेतमै छोडेका थियौँ,’ गौरीगंगा–७, मट्कौनाका रणबहादुर बमले भने,‘दशै मनाइवरी थ्रेसिङ गर्ने सोचेका थियौँ, सुकेको धान खेतमै भिज्यो ।’ धान खेतमै भिज्दा यसपालि धानको बीउ मात्रै नभई धानै कुहिने उनले बताए ।
अहिलेसम्म धान बालीमा कुनै रोग र अन्य कारणले समस्या नभए पनि भिœयाउन ठीक्क परेको धान पानीले भिजेपछि किसानलाई वर्षभरी खाद्यान्न कसरी जोहो गर्ने भन्ने चिन्ता थपिएको प्रदेश कृषि निर्देशनालय दिपायलका निर्देशक यज्ञराज जोशीले बताए । उनले भने,‘यसपालि किसानले काटेको धान भिœयाउन नपाउँदै खेतमै भिजेको छ, कतिपय स्थानमा त खेतमा सुकाइएका धानका बाला सबै पानीमाथि तैरिएका छन् ।’ धान नकाट्दै पानी परेमा नबिग्रने भए पनि काटिसकेको धान बारीमै रहँदा वर्षातले बिग्रेको उनले बताए ।
कैलालीमा ७० हजार हेक्टर र कञ्चनपुरमा ४४ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र रहेको भए पनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौँ हेक्टर क्षेत्रफलको धान बालीमा नोक्सानी पु¥याएको उनले बताए । ‘धान काटेर सुकाउन राखिएको बाली भिज्दा धान मिलमा कुटाउँदा चामल टुटेर कनिका हुने तथा भात खाँदा पुरानो भएको जस्तो बास्ना आउने समस्या देखिन सक्छ,’ उनले भने,‘तर, खडा रहेको धानमा भने त्यस्तो केही फरक पर्दैन ।’ कैलालीमा ३ लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ । उत्पादन राम्रै भए पनि यस पटकको वर्षातले भने धान भित्र्याउने बेला केही कमी हुने आँकलन गरिएको छ ।
