धनगढी २९ असोज । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला धनगढीको एक घरमा चोरी भएको छ । धनगढी उपमहानगरपालिका–२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो । प्रधानमन्त्री शेरबहादुुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको बताए । उनले चार हजार नगदसहित करिब तीन तोला सुुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षीत रहेको जनाए । ‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुुन र तीन तोला चाँदी लगिएको छ ।’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको बताउँदै घटनाको अनुुसन्धान भइरहेको जानकारी दिए । चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जनाएको छ ।
प्रधानमन्त्री देउवाका भाईका घरमा चाेरी
प्रधानमन्त्री देउवाका भाईका घरमा चाेरी