काठमाडौं, २३ असोज । नेपालमा मनसुन पश्चिमी भेग हुँदै बाहिरिएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत रहेको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी भेगबाट मनसुनको बहिर्गमन शुरु भएको जानकारी दिएको हो।
शुक्रबारबाट यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भू-भाग, लुम्बिनी प्रदेशको पश्चिमी भु-भागबाट बहिर्गमन भएको महाशाखाको भनाई छ। नेपालको मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने उल्लेखनिय मौसम प्रणाली नभएको मौसम बुलेटिनमा उल्लेख छ।
नेपालमा मनसुनको बहिर्गमनको औसत मिति अक्टोबर २ भएतापनि यस वर्षको मनसुन औसत मितिभन्दा केही पछाडि सरेको हो। आगामी केही दिनमा देशका बाँकी भू-भागहरुबाट मनसुन बहिर्गमन हुने अनुमान गरिएको छ।
शनिबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
आइतबार बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जनर चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।