महेन्द्रनगर, १७ असोज । केही दिनअघि झोलुंगे पुलको टावरमा देखिएकी युवती आइतबार बिहानै फेरी टावरको टुप्पोमा देखिएकी छिन् । यसपटक उनी चाँदनीतर्फको तेस्रो ठुलो टावरमा देखिएकी हुन् ।
बिहानै टावरको टुप्पोमा देखिएकी उनी योगा गरिरहेको अवस्थामा देखिएकी हुन् । टावरमा बसेर उनी सुर्य नमस्कार लगायत विभिन्न आशनमा योगा गरिरहेकी थिइन् ।
भीमदत्त नगरपालिका ६ ऐठपुर घर भएकी ति युवतीको माइत दोधारा चाँदनी नगरपालिका ५ कुमैयाखेडा हो । ४÷५ वर्षदेखि दोधारा हेल्थपोष्टमा पसल सञ्चालन गरिरहेकी थिइन ।
ति युवतीका भाई मनोज भण्डारीका अनुसार उनी आज बिहान ५ वजे घरबाट निस्केकी थिइन् । ६ वजेतिर पुलको टावरमा चढेकी हुन् ।
प्रहरी र स्थानीयले टावरबाट तल आउन आग्रह गर्दा उनले तलबाट सबैलाई हटाएपछि आफै ओर्लिने भनेको उनले बताए ।
‘तल प्रहरी र अरु कोही हुनुभएन,’ फोनबाट दिदीसंग भएको कुराबारे भण्डारीले भने, ‘म आफै बेलुकी ६ वजे ओर्लिन्छु, तलबाट नहटे हाम फालिदिन्छु भनिन् ।’
अघिल्लो पटक महेन्द्रनगरतर्फको तेस्रो ठुलो टावरमा चढेकी उनलाई प्रहरीले उद्धार गरेका थिए । त्यतिबेला उनले तीन पटक टावरमा चढ्ने भनेकी थिइन् ।