धनगढी,१० असोज
महेन्द्रनगर – आत्महत्या गर्ने भन्दै झोलुंगे पुलको पिलरमा चढेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ ।
मानसिक अवस्था ठिक नभएकी ति महिला आइतबार दिउसो भीमदत्त नगरपालिकातर्फको तेस्रो अग्लो पिलको टुप्पोमा चढेकी थिइन् ।
महेन्द्रनगरकी ति महिलाको माइत दोधारा चाँदनी हो । मोवाइल समेत बोकेर गएकी उनी फोनमार्फत हाम फाल्नै भन्दै आफन्तलाई धम्की दिइरहेकी थिइन् । आफन्तहरु आएपछि उनलाई ललाई फकाइ पिलरबाट तल झारेको झोलुंगे प्रहरी चौकीका असई प्रताप बहादुर थापामगरले बताए ।
‘पिलरबाट तल झरेपछि टिक टक बनाउन माथि उक्लेकी हुँ भन्न थालिन्,’ मगरले भने, ‘तल झरेपछि फेरी पिलरमै उक्लिन थालिन्, हामीहरु सबै मिलेर समात्यौं ।’
प्रहरीले ति महिलालाई आफन्तको जिम्मा लगाएको छ । दोधारा चाँदनी नगरपालिका ६ का वडाध्यक्ष दिल बहादुर सिंजाली सहित आफन्तहरुको जिम्मा लगाएको मगरले बताए ।