एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ७१ औं जन्मदिन सेप्टेम्बर १७ अर्थात आज हो। सत्तारुढ भारतीय जनता पार्टी भाजपाले शुक्रबार प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन भव्यताका साथ मनाइरहेको छ। तर विपक्षी कांग्रेसले यसलाई ‘राष्ट्रिय बेरोजगारी दिवस’ को रूपमा मनाउने घोषणा गरेको छ।
यसका लागि भाजपाले २० दिनको राष्ट्रव्यापी अभियानको योजना बनाएको छ। जसको नाम ‘सेवा र समर्पण अभियान’ राखिएको छ। उक्त अभियान अक्टोबर ७ मा समाप्त हुनेछ।
यसको लागि भाजपाले कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति गठन गरेको छ ताकि अभियानको दौरान पार्टी कार्यकर्ताहरुको लागि कार्यक्रम आयोजना गर्न सकियोस्।
प्रधानमन्त्री मोदीको जन्मदिन मनाउने भाजपाको तयारीको धेरै क्षेत्रबाट आलोचना भइरहेको छ। भाजपाको तयारीको बीचमा, किसान नेता इन्द्रजीत सिंहले भाजपा को निन्दा गरेका छन्।
उनले भनेका छन्, ‘एकातिर किसान साढे नौ महिनादेखि सडकमा आन्दोलन गरिरहेका छन् र आम जनता कोरोनाका कारण भएको क्षतिबाट मुक्त हुन सकेका छैनन्। यहाँ बीस दिनसम्म कार्यक्रम चलाउने चर्चा छ। प्रधानमन्त्रीजस्ता महत्वपूर्ण व्यक्तिको जन्मदिन मनाउनु दुर्भाग्यपूर्ण छ।’
