सरस्वती सफारी
धनगढी, २४ भाद्र/सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय तीज मनाउने प्रचलन बदलिदै गएको छ । आधुनिकता र शहरीकरणसंगै महिलाहरुको महान पर्व तीज मनाउने शैली बदलिदै गएको हो ।
‘माइतीको देश कस्तो होला भेष’, ‘आयो बरै माइतीको घरको सम्झना’ लगायतका गीतहरु तीज पर्वमा गुन्जन्थे । गाउँघरका दिदीबहिनीहरु एक ठाउँमा जम्मा भएर वर्षौ पछिको भेटघाटमा दुख सुखका कुराहरु सुनाउँदै रमाउने गर्थे । तीजमा दरको रुपमा खिर सेल रोटी बनाउने र खाँदै रमाउने चलन थियो ।
अहिले महिलाहरु तीज टोल–टोलमा र होटलमा तीज विशेष कार्यक्रम गरी मनाइने गरेको छ । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्टले भनिन –‘आधुनिकतासंगै तीज मनाउने तरिका बदलिएको छ । हामीले परम्परागत तीज पर्वलाई भुलिरहेका छौं ।’उनले चाडपर्वका राम्रा पक्षलाई निरन्तरता दिँदै विकृति हटाउने गरी पर्व मनाइनुपर्ने बताइन । उनले भनिन –‘पर्वका नाममा विकृति बढ्यो ।’
आज भोली तीज महिलाहरु मात्र नभएर पुरुषहरु पनि मनाउन थालेका छन । ‘पुरानो हाम्रो मौलिक प्रचलन माँसिदै गएको र विदेशी चलन आएको छ । यसले गर्दा धेरै विकृती देखिन आयो’ पत्रकार भावना जोशीले भनिन –‘तीजमा महिलाहरुले अरुको देखा सिखि गर्न थालेका छन । दरको रुपमा विभिन्न प्रकारका पेयपदार्थ, मासुहरु खाने विभिन्न डिस्को गीतहरुमा नाच्ने गरेको पाईन्छ ।’
गाउँघरमा मादलको ताल, बासुरीको धुनमा गीत गाउदै दिदिबहिनीहरु रमाईलो गर्ने गर्थे । आज भोलि हाम्रो समाजमा विदेशि गीतहरु गाउने र होटलहरुमा जाने रमाईलो गदै आएको पाईन्छ । आज भोलि पुराना मौलीक चलनहरु हराउदै गएका छन साहित्यकार टिएन जोशीले भने ‘दिदिबहिनीहरुमा लगाउन लुगाहरु गुनियो चोलि हुन्थ्यो । आज भोली पाइन्ट, भेस्ट, साडीहरु लगाउने गरेको पाईन्छ ।’
परम्परागत चलन मासिँदा पछि आउने हाम्रा सन्तानहरुले विस्रने अवस्था रहेको उनीहरु बताउँछन । तीजगीत भन्नेबित्तिकै नेपाली नारीहरुको महान चाड तीज झल्किने गीत भन्ने बुझिन्छ । विशेष गरेर तीजगीतमा हिन्दु नारीहरुका सुखदुःखलगायतका विषयवस्तु समेटिने गर्छन् । समयसँगै तीजगीतमा पनि परिवर्तन आएको छ । १०–१५ वर्षकै सेरोफेरोलाई हेर्ने हो भने तीजगीतमा धेरै परिवर्तन आएको पाइन्छ ।
पहिलेका तीजगीतमा विवाहित नारीले आफ्ना घरका बारेमा सुखदुःख पोख्थे । चेलीले घरमा पाएका दुःखकै सेरोफेरोमा गीत बन्थे । वर्षभरिका सुखदुःख पोख्ने थलोको रुपमा तीजगीतलाई लिइन्थ्यो । तर अहिले समय बदलिएको छ । समयसँगै नेपाली नारीको जनजीवनमा पनि परिवर्तन आएको छ । शिक्षामा पहुँचसँगै उनीहरु आर्थिक रुपमा पनि आत्मनिर्भर बन्दै आएका छन् । बिहे गरेर गएको घरमा चेलीले पहिलेको जस्तो दुःख भोग्नुपर्ने अवस्था छैन अहिले ।
तीजगीतमा समेत यो कुरा देख्न सकिन्छ । केही गीतबाहेक अधिकांश तीजगीतमा नारीहरुका दुःख भेटिन्नन् । अहिलेका तीजगीतमा नाच्ने, गाउने, रमाइलो गर्ने र घरपरिवारको साथ सहयोगका बारेमा नै बढी चर्चा भएको पाइन्छ । गीतमा पनि तीजलाई नारीको उत्सवको रुपमा वर्णन गरिएको पाइन्छ ।
