सरस्वती साफरी
धनगढी, २० भदौ – जिल्ला प्रशासन कार्यालयले भौतिक उपस्थितिमा पठन पाठन गराउन चाहने विद्यालयले स्मार्ट लकडाउन सम्बन्धी कार्यविधिको प्रावधानभित्र रहेर सञ्चालन गर्न प्रेस नोट जारी गरको छ । यही प्रेस नोटका आधारमा धनगढी उपमहानगरपालिकाका केही विद्यालयमा पठन पाठन सुचारु भएको छ भने केही विद्यालय बन्दै अवस्थामा रहेका छन् ।
उपमहानगरपालिकाभित्र रहेका निजी विद्यालयको पठन पाठन सञ्चालनमा आए पनि सरकारी विद्यालय भने सञ्चालनमा आउन सकेनन् । कोरोना महामारीका कारण विद्यालयमा विद्यार्थीलाई भौतिक उपस्थिति गराएर पठन पाठनमा समस्या भएको हुँदा विद्यालय सञ्चालन गर्न नसकिएको पञ्चोदय माध्यमिक विद्यालय हसनपुरका सह–प्रधानाध्यानक गणेशदत्त जोशीले बताए । विद्यालयमा धेरै विद्यार्थी भएकाले कोरोनाको बढी डर हुने गरेका कारण आफूहरुले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर पठन पाठन सुचारु गर्न नसकिएको उनले बताए । ‘त्यसैले हामीले विद्यालय खोलेका छैनौ,’ उनले भने,‘ अब विद्यालय खुल्ने नखुल्ने २७ गते पछि मात्र थाहा हुनेछ ।’ पञ्चोदय माध्यमिक विद्यालयमा धेरै विद्यार्थी भएकाले ४ कक्षा भन्दा माथिका विद्यार्थीलाई अनलाइन कक्षा सञ्चालन गर्ने र चारभन्दा तलकालाई अहिल्यै केही नसोचेको उनले बताए । धनगढीका सबै विद्यालय खुलेपछि अन्तिममा आफूहरु विद्यालय खोल्ने उनले बताए ।
निजी विद्यालयले पठन पाठन सुरु गरे पनि आफूहरुले अहिलेसम्म पठन पाठन सुचारु गर्न नसकेको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउँस्थित बासुदेवी माध्यमिक विद्यालयका लेखापाल देवराज जोशी बताउँछन् । उनले भने,‘आज विहान थोरै विद्यार्थी आएका थिए, उनीहरुलाई हामीले गृहकार्य दिएर घर पठायौँ ।’ अहिले विद्यालयमा भर्ना अभियान चलिरहेकाले विद्यार्थीको उपस्थिति पनि हुन नसकेको उनको भनाई छ । ‘नजिकै तिज पनि आउन लागेको छ,’ उनले भने,‘ यसले गर्दा विद्यार्थीको उपस्थिति नहुन सकेको हो ।’
आफूहरुले विद्यालयमा पठनपाठन सुरु भयो भनेर विद्यार्थीलाई अहिल्यै नबोलाएको पनि उनले बताए । ‘विद्यार्थीहरु आफै विद्यालय आउन थालेपछि गृहकार्य दिएर पठाएका छौँ,’ उनले भने,‘अब तिजपछि भने विद्यालय नियमित खुल्ला ।’ यस्तै धनगढी उपमहानगरपालिका भित्रका निजी विद्यालयले भने आइतबारदेखि पठन पाठन सुचारु गरेका छन् ।