विराटनगर, १० भदौ । एमाले सचिव भीम आचार्य नेकपा (एमाले) प्रदेश १ को संसदीय दलको नेता चयन भएका छन् । विराटनगरस्थित होटल एसिया टेकमा बिहीबार बिहान बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।
प्रदेशका मुख्यमन्त्री एवं दलका नेता शेरधन राईले राजीनामा दिएपछि आचार्यका लागि बाटो खुलेको हो । बैठकमा राजीनामा दिँदै राईले आचार्यलाई दलको नेतामा प्रस्ताव गरेका थिए ।
नेताहरुका अनुसार बैठक सकिएलगत्तै शेरधन एमालेका केही सांसदसहित राजीनामा बुझाउन प्रदेश प्रमुखको कार्यालयतिर जाँदै छन् ।‘दलको नेता एवं मुख्यमन्त्रीबाट शेरधन राईले राजीनामा दिइसक्नु भएको छ ।
दलको नेतामा भीम आचार्य चयन हुनुभयो,’ एमाले सांसद राजकुमार ओझाले भने, ‘अहिले हामी मुख्यमन्त्रीको राजीनामा बुझाउन प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’को कार्यालयतिर जाँदै छौँ ।
आचार्यलाई नयाँ मुख्यमन्त्री नियुक्त गर्न पनि प्रदेश प्रमुखसमक्ष सिफारिस गरिने छ ।’ प्रदेश प्रमुखको कार्यालयले पनि नयाँ मुख्यमन्त्रीको शपथको आजै गराउने तयारी गरेको छ ।