धनगढी २८ साउन/ कैलालीको भासु भिरमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् ।प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको मृत्यु भएको हो।
कैलालीको चुरे गाउँपालिका– ६ की ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिका–१ की ५ वर्षीया एलिसा खड्काको मृत्यु भएको हो। यस्तै दुर्घटनामा जोरायल–१ का जीप चालक रमेश खड्का, २८ वर्षीया निर्मला खड्का र चुरे–६ का सुशिल साउद घाइते भएका छन्।
बुधबार जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार सडकबाट जीप झण्डै तीन सय मिटर तल खसेको हो।