डोटी,२६ साउन । सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष (२०७७/०७८) मा मात्रै ६८० जनाले आत्महत्या गरेका छन् । सबैभन्दा बढी ४९६ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यस्तै विष सेवन गरेर १७२, पानीमा हाम फालेर पाँच, आगो लगाएर तीन, हाम फालेर तीन र हातहतियार औजार प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् ।
सुदूरपश्चिम प्रहरी कार्यालयले दिएको जानकारी अनुसार विगत चार वर्षमा सुदूरपश्चिम प्रदेशमा आत्महत्या गर्नेको संख्या दुई हजार १८८ रहेको छ । आर्थिक वर्ष ०७४/७५ मा झुण्डिएर दुई सय ९४, विष सेवन गरेर एक सय ७५, पानीमा हाम फालेर १२, करेन्ट लगाएर नौ र आगो लगाएर ६ जना गरी चार सय ९६ जनाले आत्महत्या गरेका प्रहरीको तथ्याङ्कले देखाउँछ ।
आर्थिक बर्ष ०७४/७५ को तुलनामा ०७५/७६ मा आत्महत्या गर्नेको संख्यामा केही कमी आएको देखिन्छ । ०७५/७६ मा झुण्डिएर ३३८, विष सेवन गरेर १३१, पानीमा हाम फालेर तीन, हातहतियार औजार प्रयोग गरेर दुई र कर्तव्य गरी एक जनाले आत्महत्या गरेका छन् ।
आर्थिक वर्ष ०७६/७७ मा आत्महत्या गर्नेको संख्या ५३७ रहेको छ । झुण्डिएर ४०५ जना, विष सेवन गरेर १२८, हाम फालेर दुई, हातहतियार औजार प्रयोग गरेर एक र आगो लाएर एक जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कले देखाउँछ । ०७५/७६ को तुलनामा यो संख्या ह्वात्तै वढेको देखिन्छ ।
झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी
प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार आत्महत्या गर्नेहरुमा झुण्डिएर आत्महत्या गर्नेको संख्या बढी छन् ।चार वर्षको अवधीमा एक हजार ५३३ जनाले झुण्डिएर आत्महत्या गरेका छन् । यो संख्या यस अवधिमा आत्महत्या गर्ने कुल संख्याको ७० प्रतिशत हुन आउँ छ ।
चार वर्षको अवधिमा विष सेवन गरी आत्महत्या गर्नेको संख्या ६०६ रहेको छ । यो संख्या यस अवधिमा आत्महत्या गर्ने कुल संख्याको झण्डै २८ प्रतिशत हुन आउँछ ।यस्तै पानीमा हाम फालेर २०, आगो लगाएर १०, करेन्ट लगाएर नौ, हाम फालेर पाँच, हातहतियार औजारको प्रयोग गरी चार र कर्तव्य गरि आत्महत्या गर्नेमा एक जना रहेका छन् ।
किन बढ्दैछन् आत्महत्याका घटना ?
कञ्चनपुरको महाकाली अस्पतालमा कार्यरत डा। गिरिश अवस्थी भन्छन्, ‘यसको सामाजिक कारण छ, पहिले सामाजिक जीवन बिताउने हुँदा आत्महत्याका घटनाहरु कम हुन्थे तर अचेल एक्लै बस्न थालेपछि यो समस्या बढेको देखिन्छ ।
’परिवारभन्दा अलग्गै बस्ने भएपछि आफ्ना समस्याहरु अरुसँग भन्न नसक्ने भएर बिस्तारै हरेश हुँदै आत्महत्याको बाटो रोज्ने गरेको डा अवस्थीको भनाइ छ ।
मानसिक तनावकै कारण पनि व्यक्ति आत्महत्याको तहमा पुग्ने गरेको अवस्थी बताउँछन् । ‘आत्महत्या तत्काल आवेशमा आएर लिइने निर्णय हो,’ डा। अवस्थीले भने, ‘व्यक्ति कुनै कुराले तत्काल आवेशमा आउँछ वा निराश हुन्छ तव उसले आत्महत्याको बाटो रोज्छ ।’
झुण्डिएर आत्महत्या गर्नेको संख्यामा धेरै हुनुले पनि आत्महत्या तत्काल आवेशमा लिएको निर्णय हो भन्ने संकेत गरेको अवस्थी बताउँछन् । उनी भन्छन्, ‘पूर्व तयारी हुँदैन, त्यसैले सहज रुपमा घरमा पाइने, रस्सी, तन्ना, दुपट्टाले झुण्डिन्छन् ।
’ विकसित देशहरुमा आत्महत्या गर्नेहरुमा गोली हानी, विष सेवन गरी बढी हुने गरेको रिपोर्टहरुले देखाएको अवस्थी बताउँछन् । मानसिक तनावकै कारण आत्महत्या गर्नेहरुको संख्या बढ्दै गएको जिल्ला प्रहरी कार्यालय डोटीका सहायक सूचना अधिकारी प्रहरी निरीक्षक रवीन्द्र चन्द बताउँछन् ।
उनले घरायसी समस्याका कारण, घरेलु हिंसाका कारण पनि आत्महत्या गरेको अनुसन्धानबाट देखिएको बताए । प्रहरी निरीक्षक चन्द भन्छन्, ‘घरेलु हिंसाका कारण आत्महत्या गरेको हो भन्ने जानकारी पाए त हामी आत्महत्या दुरुत्सानमा मुद्धा चलाउँछौं तर कतिपय घरेलु हिंसाका घटनाहरु पनि खुल्दैनन्, त्यसलाई आत्महत्यानै मान्नु पर्ने हुन्छ ।
’मुलुकी अपराध संहिता, २०७४ लागू भएपछि प्रहरीले एक सय नौ जना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको छ । आर्थिक वर्ष ०७५/७६ मा २७, ०७६/७७ मा ४१ र ०७७/७८ मा ४१ जना विरुद्ध आत्महत्या दुरुत्साहनमा मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ ।