धनुषा -प्रदेश २ को धनुषा जिल्लास्थित विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासले आफ्नो कार्यकक्षभित्रै कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउँदै गरेको फोटो सार्वजनिक भएको छ ।
मेयर दासले आफ्नै नगरपालिकामा काम गर्ने कार्यालय सहयोगी करण दाससँग आफ्नो कार्यकक्षमा सोफामा आरामले बसेर खुट्टा मालिस गराइरहेको तस्बिर समाजिक सञ्जालमा हालिएपछि उनको चौतर्फी आलोचना भएको हो ।
कोठाको भित्रबाट चुकुल लगाएर मेयर दासले कार्यालय सहयोगीसँग खुट्टा मालिस गराइरहेको अवस्थामा उनकै नजिकका एक व्यक्तिले सो तस्बिर झ्यालबाट खिचेको बताइएको छ ।
यससम्बन्धमा मेयर दासले आफूलाई सञ्चो नभएपछि एकछिनका लागि कार्यालय सहयोगीसँग खुट्टा मालिस गराउन लगाएको बताए । उनले कार्यालय सहयोगी करण आफ्नो भाइ रहेकोले यसलाई आफूले सामान्य रुपमा लिएको प्रतिक्रिया दिए ।