धनगढी, २१ साउन । दार्चुला घटनाको छानविनका लागि पुगेको गृह मन्त्रालयको टोलीविरुद्ध मालघाटमा प्रर्दशन गरिएको छ । तुइन तर्ने क्रममा गत शुक्रबार भारतीय एसएसबीले डोरी फुकालिदिएपछि खसेर युवक बेपत्ता भएको घटनाको छानवीन गर्न खटिएको टोलीबिरुद्ध नाराबाजीसहित स्थानीयले प्रदर्शन गरेका हुन् ।
उनीहरूले भारतीय भूमी टेकेर आउने छानविन समिति मुर्दावाद, गोर्खाली कहिल्यै झुक्दै्, कालापानी लिपुलेक हाम्रै हो, भारतीय हस्तक्षेप मुर्दावाद जस्ता नाराबाजी समेत गरेका छन् ।
नदीमा बेपत्ता भएका व्यास गाउँपालिका–२ का जयसिंह धामीका भाइ नरेन्द्रले पीडित पक्षसँग भेटघाट समेत नगरेर भारतीय भूमीबाट घटनास्थलको निरीक्षणका लागि पुगेकाले प्रदर्शन गरिएको बताए ।
‘टोली दार्चुला पुगेको आज तीन दिन पुगिसक्यो तर हामीसँग अहिलेसम्म भेटघाट गरेको छैन्,’ धामीले अनलाइनखबरसँग भने, ‘घटनास्थलको निरक्षण गर्नलाई भारतीय भूमी प्रयोग गरेकाले हामीले विरोध गरेका हौँ ।’
बिहीबार दिउँसो गृह सहसचिव जनार्दन गौतम नेतृत्वको टोली घटनास्थलको निरीक्षणका लागि सदरमुकाम खलंगाबाट भारतीय बाटो हुँदै गएको थियो । स्थानीयले महाकाली वारी नेपाली भूमीमा प्रर्दशन गर्दा टोलीले पारीपटुटी भारतीय भूमीमा निरीक्षण गरिरहेको थियो ।