दार्चुला, २१ साउन । ब्याँस गाउँपालिका–२ मालघाट घट्नाका प्रत्यक्षदर्शीको बयान पछि गृह मन्त्रालयबाट गएको छानविन टोलीले भारत पट्टीको घट्ना स्थल अनुगमन गरेको छ । बिहीबार विहान भारतको धारचुला हुँदै घट्ना स्थल गस्कु गएको टोलीले भारत पट्टीको घट्ना स्थल गस्कु अनुगमन गरेको गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जर्नादन गौतमले जानकारी दिए ।
घट्ना स्थल अनुगमन जानु पुर्व बुधबार मन्त्रालयको टोलीले जिल्ला स्थित राजनितिक दल, ब्याँस गाउँपालिकाका जनप्रतिनिधि, मानव अधिकारकर्मी र पत्रकारहरु संग घट्नाको विषयमा छलफल गरेको थियो । टोलीले भारत पट्टीको घट्ना स्थललाई अनुगमन गरी फर्किएको छ । घट्ना स्थल नेपाल तिरको क्षेत्रमा मलघट्टे तथा भारत तिरको क्षेत्रमा गस्कु भन्ने ठाउँ पर्दछ । टोलीले गस्कु घट्ना स्थलमा तुइन बाधेको टुनीको रुख र नेपाल तर्फको घट्ना स्थललाई अनुगमन गरेको हो ।
गस्कु घट्ना स्थल अनुगमन गरी फर्किएको टोलीले गृह मन्त्रालयलाई हेलिकप्टर उपलब्ध गराउन माग गरेको छ । नेपाल पट्टीको माल घट्ना स्थल जान नेपालबाट बाटो नभएका कारण हेलिकप्टरको माग गरिएको संयोजक गौतमले बताए । हेलिकप्टरको व्यवस्था हुने वित्तिकै नेपाल पट्टीको माल घट्ना स्थल अनुगमनका लागी जाने तयारी भइरहेको उनले बताए ।
छानबिन टोलीले घट्ना हुने वित्तिकै दुम्लिङ बिओपीबाट घट्ना स्थल खटिएको सशस्त्र प्रहरीको टोलीलाई समेत घट्नाका बारेमा सोधपुछ गर्ने जनाएको छ । घट्ना संग सम्बन्धित सबैलाई सोधपुछ गरेर प्रतिवेदन तयार गरी गृह मन्त्रालयमा बुझाउने संयोजक गौतमले जानकारी दिए ।
गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित छानबिन टोलीमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक सुरेश कुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय, दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट रहेका छन् ।
साउन १५ गते ब्याँस गाउँपालिका–२ मालघाटमा तुईन तर्ने क्रममा भारतीय एसएसबीले तुईन काटीदिदा स्थानिय जय सिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए । जय सिंह धामी अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य जारी छ ।