काठमाण्डौ १९ साउन/मौसम पूर्वानुमान महाशाखाले मंगलबार पनि देशका केही प्रदेशमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ।हाल देशका अधिकांश भूभागमा सामान्य बदलीको अवस्था छ।
‘अहिले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षासमेत भइरहेको छ,’ महाशाखाकी मौसमविद् गंगा नगरकोटीले भनिन्, ‘तर, आज दिउँसो प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाकोसमेत सम्भावना छ।’
महाशाखाले वर्षासँगै बाढीपहिरो जान सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि नागरिकलाई अनुरोध गरेको छ। बाढी पूर्वानुमान महाशाखाले भने आज कोसी, कमला, नारायणी, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई, कन्काइ, महाकाली लगायतका नदी र तिनका सहायक नदी र खोलामा पानीको बहाब सामान्य घटबढ हुने तर, खतराको तह भने पार नगर्ने अनुमान गरेको छ।