धनगढी, २९ असार/कोरोना संक्रमण तिब्र बनेका बेला बिभिन्न दाता तथा रोटरी क्लबका सदस्यहरूबाट सङ्कलित रकम र त्यसबाट खरिद गरिएका साम्रागीहरु बारे रोटरी क्लब अफ धनगढीले आर्थिक विवरण सार्वजनिक गरेको छ ।आज एक कार्यक्रमको आयोजना गर्दै अभियानका संयोजक प्रकाशचन्द्र भट्टले आर्थिक विवरण सार्वजनिक गरेका हुन् ।
क्लबका सदस्य तथा बिभिन्न दाताहरूबाट १ करोड ४० लाख ४ हजार संकलन भएको जानकारी गराइएको छ । क्लबका सदस्यहरूबाट ३३ लाख ९६ हजार रुपैयाँ र दाताहरूबाट १ करोड ६ लाख ७ रुपैयाँ संकलन भएको भट्टले बताए ।
कन्सन्ट्रेटर खरिद गर्न ढुवानी र वितरणमा १ करोड ६ लाख ७ हजार ३१९ रुपैयाँ , एन ९५ मास्क खरिद र छपाइ ३ लाख ४३ हजार ५९९ खर्च भएको जानकारी गराइएको छ । हाल सम्म २९ लाख ९६ हजार रकम मौज्दात रहेको संयोजक चन्दले बताए । प्रदेशमा एक सय थान कन्सन्ट्रेटर वितरण गरेको रोटरी क्लब अफ धनगढीले जनाएको छ ।
कैलालीमा ३२ थान,डोटीमा ५ थान,अछाममा ८ थान,बाजुरामा ५ थान,बझाङमा ९ थान,कञ्चनपुरमा ११ थान,डडेल्धुरामा ७ थान,बैतडीमा ८ थान र दार्चुलामा १० थान, कन्सन्ट्रेटर वितरण गरेको जनाएको छ । त्यस्तै बाँके र बर्दियामा २ ÷२ थान कन्सन्ट्रेटर वितरण गरेको क्लवले जनाएको छ । अहिले पनि १ थान मौज्दात रहेको क्लबका अभियानका संयोजक भट्टले बताए ।