महेन्द्रनगर । बर्खाको समय ठूलो पानी पर्दा छानो चुहिन्थ्यो । सशस्त्र प्रहरीलाई ब्यारेकमै ओभानो ओतको समस्या हुन्थ्यो ।सशस्त्र प्रहरीका अधिकांश बीओपीमा पूर्वाधार अवस्था अहिले पनि जीर्ण छ ।स्थापनाकालदेखि पूर्वाधार अभावको सामना गर्दै आएको थियो, भीमदत्त नगरपालिका–११ स्थित गड्डाचौकी बोर्डर आउट पोस्ट ९बीओपी० ले ।
बीओपीका भवन पुराना हँदै गएपछि छानो चुहिने र जीर्णावस्थामा थिए । भीमदत्त नगरपालिकाले गत वर्ष सशस्त्र प्रहरीको गड्डाचौकी बीओपीलाई जस्तापाता खरिद गर्न ५ लाख रुपैयाँ सहयोग गर्यो ।नगरपालिकाको सहयोगपछि अहिले बीओपीका जीर्ण बनेर चुहिने भवनको छाना फेरिएको छ । कञ्चनपुरका सशस्त्र प्रहरी बल प्रमुख एसपी वीरेन्द्र ऐरले नगरपालिकाको सहयोग पाएपछि ठूलो राहत मिलेको बताए ।
सोमबार सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीसहितको टोलीले गड्डाचौकी बीओपीको स्थलगत अनुगमनका क्रममा पुग्दा एसपी जोशीले नगरपालिकाबाट महत्वपुर्ण सहयोग प्राप्त गरेको उल्लेख गरे ।‘भीमदत्त नगरपालिकाबाट बीओपीको पूर्वाधार सुधार र निर्माणका लागि आवश्यक सहयोग पाएका छौं,’ उनले भने, ‘जिल्लाका अन्य स्थानीय तहलाई आग्रह गरिए पनि सहयोग मिलेन ।’नगरपालिकाबाट अन्य बीओपीको व्यवस्थापनका लागि सहयोग मिलेको उनको भनाइ छ ।नगरपालिकाले ब्रह्मदेव बीओपीको शौचालय निर्माण, श्रीलंका टोलस्थित बीओपीका लागि जग्गा प्राप्तिमा सहजीकरण गरेको छ ।
भीमदत्त नगरपालिका प्रमुख सुरेन्द्र विष्टले पालिकाले विभिन्न संघ–संस्थालाई आवश्यकताअनुसार सहयोग गरेको जानकारी दिए । जनताको सेवामा समर्पित संघ– संस्थाको सेवा प्रवाह सहज बनाउन नगरपालिकाले सहयोग गरेको उनले बताए । ‘सुरक्षाकर्मीको परिचालन, व्यवस्थापन संघीय सरकारअन्तर्गत भए पनि मनोबल बढाउन र सेवा सहज बनाउन सक्दो सहयोग गरेका हौं’, नगर प्रमुख विष्टले भने, ‘देशको समृद्धिका लागि सबै तहका सरकारबीच सहकार्य हुन जरुरी छ । यसमा सबैले आ–आफ्नो तर्फबाट जिम्मेवार बन्नुपर्छ ।’ भीमदत्त नगरपालिकाले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, वडा प्रहरी, ट्राफिक प्रहरी, जिल्ला कारागार कार्यालयलगायत अन्य सामाजिक संघ–संस्थालाई पनि आर्थिक सहयोग गरेको छ ।