कञ्चनपुर/ बजारमा जताततै भीडभाड । भौतिक दूरी न कुनै स्वास्थ्य सुरक्षाका मापदण्ड । कतिपयले मास्कसमेत लगाएको देखिँदैन । सरकारी कार्यालयहरूमा समेत स्वास्थ्य सुरक्षाको कुनै वास्ता गरिएको छैन ।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले गत सातादेखि निषेधाज्ञा केही खुकुलो पारेको छ । व्यापार व्यवसाय र निजी सवारीसाधन खुला भएसँंगै सावधानी पनि हटेको छ । ‘बजारमा भीडभाड पुरानै अवस्थामा भइसक्यो, सावधानी भन्ने कतै छैन,’ महेन्द्रनगर बजार क्षेत्रकै स्थानीय दिनेश भट्टले भने, ‘स्वास्थ्य सुरक्षाको मापदण्ड लागू गराउने सरकारी कार्यालयमै भीडभाड बढेको छ ।’ विद्युत् महसुल बुझाउन, सवारी तथा लाइसेन्स नवीकरण गर्न र राजस्व बुझाउने कार्यालयहरूमा भीडभाड बढ्न थालेको हो ।
जिल्लामा दोस्रो लहरको संक्रमण ओरालो लागेपछि झन्डै दुई महिनापछि निषेधाज्ञा केही खुकुलो पारिएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले असार ७ देखि बजार व्यवसाय बिहान ६ देखि ३ बजेसम्म खुला रहने निर्णय गरेको छ । यसैगरी सरकारी र निजी सवारीसाधन पनि चल्न पाउने निर्णय गरेको छ । यसअघि निषेधाज्ञाको अवधिमा निश्चित समयका लागि खुला रहेका अत्यावश्यक सामग्री खाद्यान्न, दूध र तरकारीका पसलहरू सामान्य अवस्था झै खुल्न पाउने भएका छन् ।
कञ्चनपुरमा वैशाख पहिलो सातादेखि दोस्रो लहरको संक्रमण देखिएको हो । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लहरको संक्रमणबाट हालसम्म पीसीआर परीक्षणबाट ३ हजार ४८९ र एन्टिजेन परीक्षणबाट २ हजार २ सय ८१ जना संक्रमित भएका छन् । जिल्लामा पहिलो लहरबाट १६ जनाको मृत्यु भएको थियो । दोस्रो लहरबाट १ सय ७० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अहिले पनि सक्रिय संक्रमितको संख्या ८४ रहेको छ । दैनिक ८र१० जना संक्रमित थपिने क्रम जारी छ ।
‘जोखिम अझै कम भइसकेको छैन, बजार खुले पनि सावधानी अपनाउन छाड्नु हुँदैन,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य निरीक्षक सिद्धराज भट्टले भने, ‘मास्क र सेनिटाइजरको प्रयोगसंँगै भौतिक दूरीलगायतका मापदण्डहरू अपनाउनुपर्छ ।’ उनले विगतमा तीव्र गतिमा बढिरहेको संक्रमणको चेन निषेधाज्ञासंँगै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन कम भएकाले अहिले पनि त्यसतर्फ सजग हुनुपर्ने बताए । वैशाख अन्तिममा जिल्लामा सक्रिय संक्रमितको संख्या डेढ हजार नाघेको थियो । दैनिक दुईरतीन सय जना संक्रमति हुने गरेको थिए ।
दोस्रो लहरको संक्रमण कम भएसँगै तेस्रो लहरको चर्चा र त्रास सुरु भइसकेको छ । नेपालमै समेत नयाँ भेरिएन्ट देखिएको छ । जुन निकै घातक हुन सक्ने स्वास्थ्यकर्मीले औंल्याएका छन् । ‘अहिले पनि जोखिम कायमै छ,’ महाकाली अस्पतालका डा। अर्जुन भट्टले भने, ‘एकै पटक भीडभाड र असावधानीले खतरा बढ्न सक्छ ।’ क्रमिक रूपमा निषेधाज्ञा खुकुलो पार्दै जानुपर्ने र त्यहीअनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालनालाई बढाउँदै लैजानुपर्ने उनले बताए ।
केही दिनयता महाकाली अस्पतालमा पनि संक्रमित बिरामीको संख्या निकै घटेको छ । अहिले अस्पतालमा उपचाररत बिरामीको संख्या ६ जना मात्र रहेको छ । हप्तामा एकरदुई जना नयाँ बिरामी भर्ना हुने गरेका छन् । महेन्द्रनगर बजारमा मात्रै होइन ग्रामीण भेगका बजारहरूमा समेत भीडभाड बढेको छ । सदरमुकाममै अनुगमन र निगरानी हुन नसकिरहेका बेला ग्रामीण भेगमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गराउन झनै गाह्रो देखिन्छ ।
भवानी भट्ट/कान्तिपुरबाट
