धनगढी: मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिने क्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसले माओवादी केन्द्र नेतृत्वको वर्तमान सरकारलाई ढल्न नदिने र आवश्यक परे पक्षमा मतदान गर्ने निर्णय गरेको थियो । पछि विश्वासको मत प्राप्त गर्न माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षधर सांसदकै मत प्रयाप्त हुने भएपछि कांग्रेस सांसद तटस्थ बसेका थिए ।
बुधबार प्रदेशसभा बोल्दै कांग्रेस सांसद डिल्लीराज पन्तले आफूहरुले स्थिरता चाहेको र पाँच वर्षसम्म अहिलेकै सरकारलाई नेतृत्व गर्न दिने जनताको म्यान्डेटको पालना गरेको बताए । ‘यसको अर्थ सरकारलाई सहयोग गरे पनि हामी प्रतिपक्षीकै भूमिकामा रहन्छौं,’ उनले भने, ‘तर सरकारले कुरा मात्रै राम्रा हैन, काम पनि राम्रो गरोस् ।’
सरकारले सोमबार प्रदेशसभामा आर्थिक वर्ष ०७८र०७९ को पूर्वबजेट प्रस्तुत गरेको छ । त्यसमाथि बुधबार पनि छलफलका क्रममा सांसदहरुले मन्तव्य राखेका हुन् । छलफलका क्रममा कांग्रेस सांसद पन्तले भने, ‘अर्थमन्त्रीले प्रस्तुत गरेको प्रि–बजेट फुलबुट्टे छ ।’ उनले कार्यान्वयन गर्न नसक्ने कार्यक्रमहरु बजेटमा नराख्न अनुरोध गरे । सरकारले तीन वटा बजेट ल्याएर खर्च गरे पनि कुनै पनि उपलब्धि हुन नसकेको पन्तको भनाइ थियो ।
एमालेका पठानसिंह बोहराले सरकार जबरजस्त छ, सकिन्छ भने छलाङ मारोस् भन्दै व्यंग्य गरे । उनी एमालेभित्र ओली समर्थक सांसद हुन् । माओवादी केन्द्रका सांसद विरभान चौधरीले उत्पादित वस्तुलाई बजारीकरणका योजनामा प्राथमिकता दिनुपर्ने बताए । ‘प्रदेश सरकारले विद्युत् उत्पादनको योजना कार्यान्वयन गर्नु पथ्र्यो,’ उनले भने ।
छलफलका क्रममा एमालेकै माया भट्ट, कृष्णराज सुवेदी, बलदेव रेग्मी, रतन थापा, कांग्रेसका देवराज पाठक, अम्बी थापा, उमादेवी बादी र माओवादी केन्द्रका विरभान चौधरी, प्रेमप्रकाश भट्टले प्रिबजेटमाथि धारणा राखेका थिए ।