धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले सोमबार पेश गरेको ०७८र०७९ को पूर्व बजेटमाथिको छलफलका क्रममा कांग्रेसका सांसदले प्रदेश संसद्लाई मनोरञ्जनको थलो नबनाउन आग्रह गरेका छन् । कांग्रेस सांसद भरतबहादुर खड्काले सरकारले प्रदेश संसदलाई मनोरञ्जनको थलो बनाउन खोजेको आरोप लगाए ।
‘कोभिडले संकटपूर्ण अवस्था छ, सिटामोल पाउने अवस्था छैन,’ सांसद खड्काले भने, ‘कोभिड नियन्त्रणमा गरिएको खर्चको कुनै समिक्षा छैन, आदर्शका शब्दहरुले मात्रै केही हुने वाला छैन ।’ हरेक वर्ष कृषि विकासको कुरा गर्ने,लगानी गर्ने तर उपलब्धीबारे कुनै समीक्षा नभएको उनले बताए । ‘किसानले मल नपाएर चोरी गर्न बाध्य हुनुपर्ने अवस्था छ,’ उनले भने ।
कांग्रेसकै अर्का सांसद कर्णबहादुर मल्लले हालसम्मको अनुभवबाट प्रदेश सरकारले अझै केही गर्ला भन्ने भ्रममा आफूपनि रहेको बताए । ‘कोभिड महामारीले संकट भएका बेला सीमामा आवतजावत गर्ने दाजुभाइहरु पानी नपाएर तड्पइरहेको अवस्था थियो ।
हामीले पानीको व्यवस्था त गर्नुस् भनेर मुख्यमन्त्रीलाई भन्यौं,’ सांसद मल्लले भने, ‘तर कुनै सुनुवाइ भएन ।’ अबको बजेटमा विगतका कमजोरीको समीक्षा गर्दै अहिलेको कठिन घडीमा सरकारले अभिभावकत्व दिनुपर्ने बताए । सोमबार बिहान बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षका लागि प्रस्तुत हुने बजेट तथा कार्यक्रमको प्राथमिकता र सिद्धान्त प्रिबजेट पेस गरेका थिए ।