धनगढी: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ । गृह मन्त्रीमा बाजुराका कर्ण थापाले दाबी गरेको बुझिएको छ । एमालेका पूर्वसांसद नारदमुनि राना मन्त्री बन्ने लगभग पक्का भएको एमाले स्रोत बताउँछ । राना कैलालीबाट काँग्रेस नेतृ आरजू राणालाई चुनाव हराएर सांसद बनेका हुन् । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीबाट राजीनामा दिएर एमालेमा प्रवेश गरेका झपट बोहोरालाई पनि मन्त्री बनाउने तयारी छ ।
पूर्वमाओवादी नेता बोहोरा अछामका हुन् । भीम रावलको गृहजिल्लाका पूर्वमाओवादी नेता भएकाले भीम रावलको सेखी झार्नकै लागि भए पनि प्रधानमन्त्री ओलीले प्रदेशको मन्त्रीबाट हटेका उनलाई संघीय मन्त्रालयमा ल्याउन लागेका हुन् । माओवादीबाट एमालेका आएका अछामे नेता झपट रावलसँगै अछाम क्षेत्र नम्बर २ का एमाले पूर्वसांसद यज्ञबहादुर बोगटीको नाम पनि मन्त्रीका रुपमा चर्चामा छ । माधव नेपाल पक्षमा लागेका भीम रावल अछाम क्षेत्र नम्बर १ का पूर्वसांसद हुन् भने बोगटी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा विजयी पूर्वसांसद हुन् ।
