धनगढी: सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका सांसदले प्रतिपक्षीको सिट माग गरेका छन् । मंगलबार सुरु भएको प्रदेशसभाको आठौँ अधिवेशनको दोस्रो बैठकमा नेकपा एमाले ओली समूहका प्रदेशसभा सदस्य पठानसिंह बोहराले पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको भन्दै प्रतिपक्षीको बेन्चमा बस्न दिन माग गरेका हुन् ।
‘नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको र जेठ १४ गते प्रदेशसभा सचिवालयमा त्यसको जानकारी दर्ता भइसकेको छ,’ बोहराले भने, ‘तसर्थ नेकपा एमाले अब प्रतिपक्षी भएको छ । प्रतिपक्षी बेन्चमा बसाइको व्यवस्थाका लागि पनि म आग्रह गर्दछु ।’
बोहराले एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री त्रिलोचन भट्ट अल्पमतमा परेको भन्दै पदबाट राजीनामा दिन समेत माग गरे । ‘यो सरकार सरकार स्वाभाविक रुपमा अल्पमतमा परेको छ,’ उनले भने ‘अब मुख्यमन्त्री ज्यूले राजीनामा गर्नुको अर्को विकल्प छैन । तत्काल राजीनामा होस् भन्ने म जोडदार माग गर्दछु ।’
माधव पक्षका सांसदको काउन्टर
प्रदेशसभामा एमालेकै माधवकुमार नेपाल पक्षका सांसदले भने सरकारलाई दिएको समर्थन कायमै रहेको बताए । प्रदेशसभा सदस्य अमरबहादुर साउदले आफ्नै पार्टीका सांसदले आश्चर्यजनक अभिव्यक्ति दिएको बताए ।
‘सत्तापक्षकै केही माननीयज्यूबाट सरकारलाई दिएको समर्थन फिर्ता लिएको आश्चर्यजनक अभिव्यक्ति यहाँ सुन्यौँ,’ साउदले भने, सभामुखज्यू मार्फत म यहाँहरुलाई जानकारी गराउन चाहन्छु, हामीले संसदीय दलको बैठकबाट सर्वसम्मत रुपमा माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई यथावत राख्ने निर्णय भएको छ ।’
नेकपा एमालेको १० जेठमा बसेको स्थायी कमिटीको बैठकले माओवादी नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता निर्णय गरेको थियो । तर १२ जेठमा बसेको प्रदेश संसदीय दलको बैठकले भने तत्काल समर्थन कायमै राख्ने निर्णय गरेको थियो । संसदीय दलमा माधव नेपाल समूहको बहुमत भएकाले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।
त्यसपछि एमालेले प्रदेश सरकारमा रहेका ३ मन्त्रीलाई राजीनामा दिन लगाएर ४ मन्त्री र ३ जना राज्यमन्त्री पठाएको थियो । पार्टी निर्देशन विपरीत सरकारमा सहभागी भएको भन्दै ती मन्त्रीहरुलाई प्रदेश कमिटीले स्पष्टीकरण माग्दै कारवाही प्रक्रिया अगाडि बढाएको छ । संसदीय दलका नेता समेत रहेका आर्थिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहलाई पार्टी अध्यक्ष केपी ओलीले स्पष्टीकरण सोधेका छन् ।
शोक प्रस्ताव पारित
यसैबीच सुदूरपश्चिमका पूर्वप्रदेश प्रमुख मोहनराज मल्लको निधनमा प्रदेशसभाबाट शोक प्रस्ताव पारित गरिएको छ । शुक्रबार बसेको बजेट अधिवेशनको पहिलो बैठकले शोक प्रस्ताव पारित गरेको हो । मल्लको गत जेठ १२ गते कोरोना भाइरसको संक्रमणबाट उपचारका क्रममा काठमाडौँमा निधन भएको थियो ।