धनगढी : नापी विभागले विशेष प्रकारको हवाईजहाज आकाशमा उडाएर जमिनको धरातलीय स्वरूप पत्ता लगाउने लाइडर सर्भे सुरु गर्ने भएपछि धनगढीको आकासमा पनि जहाज चक्कर लगाइरहेको छ। विभागले मङ्गलबार भैरहवाबाट जहाज उडाएर लाइडर सर्भेको सुरुवात गर्न लागेको हो । सरकारी तहबाट पहिलोपटक यस्तो सर्भे गर्न लागिएको हो ।
नापी विभागले महत्त्वपूर्ण परियोजनाका रूपमा यो कार्यक्रम अगाडि बढाएको हो । सर्भेबाट आउने तथ्याङ्कले विकासनिर्माणका योजनामा निकै ठूलो सहयोग पुग्ने विश्वास विभागको छ ।
पृथ्वीको धरातलीय स्वरूपलाई जस्ताको तस्तै तस्बिरमा उतार्ने काम लाइडर सर्भेबाट गरिने बताइएको छ । विज्ञका अनुसार पृथ्वीको सतह कहाँ अग्लो, कहाँ होचो छ भन्ने मापन गर्ने अत्याधुनिक विधिलाई लाइडर सर्भे भनिन्छ ।
