धनगढी: एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव राजेन्द्र रावलले सुदूरपश्चिम सरकारमा एमालेका तर्फबाट नवनियुक्त मन्त्रीले २४ घण्टाभित्र सकरात्मक स्पष्टीकरण नदिए कारबाहीको प्रक्रिया थालिने बताएका छन्।
रावलले नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुलाई पार्टी निर्देशनविपरीत सरकारमा सहभागी भएको भन्दै स्पष्टीकरण सोधिएकोमा उपयुक्त जवाफ नआए एमालेबाटै हटाउने चेतावनी दिएका हुन्।
प्रदेश सचिव रावलले पार्टी केन्द्रले माओवादी नेतृत्वको सरकारबाट फिर्ता हुने निर्णय गरिसकेको अवस्थामा उल्टै मन्त्री र राज्यमन्त्रीको नियुक्ति लिनु पार्टी निर्देशनको ठाडो उल्लङ्घनका रुपमा लिएका छन्।
‘उहाँहरुलाई पार्टीले स्पष्टीकरण सोधेको छ। जहाँसम्म सकरात्मक जवाफ आउला’ उनले भने, स्पष्टीकरणका विषयमा अहिले नै पूर्वानुमान गर्ने अवस्था छैन। हामीले खुला हृदयले स्पष्टीकरण सोधेका हौँ। मलाई लाग्छ जवाफ सकरात्मक आउँछ। यदि उपयुक्त जवाफ नआए कारवाहीको प्रक्रिया अघि बढ्छ, बढाइन्छ।‘
उनले थपे, ‘सूर्य चिन्हबाट चुनाव लडेर विजयी भएका सांसद अहिले पनि एमालेमै छन् भन्ने हाम्रो बुझाइ। अब उनीहरूको एमालेमा बस्ने मन नै छैन भने भन्न सकिँदैन एमालेकै राजनीति गर्नुछ भने अवश्य पनि स्पष्टीकरणको जवाफ चित्त बुझ्दो आउँछ होला।‘
चित्त बुझ्दो जवाफ नआए उनीहरूलाई नेकपा एमालेको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेने उनको भनाइ छ। एमाले पार्टी शुद्धीकरणका लागि पनि कारबाही अनिवार्य रहेको उनले बताए।