काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापनाको प्रस्ताव राख्दा पार्टीका तीन नेता तत्कालीन समयमा विपक्षमा रहेको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गौतमले तत्कालीन केन्द्रीय कमिटी बैठकमा गणतन्त्र स्थापना हुनुपर्छ भन्ने प्रस्ताव राख्ने व्यक्ति आफू भएको बताएका छन् ।
“बिडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ,” वक्तव्यमा भनिएको छ । उनले गणतन्त्रको विरुद्धमा रहेका तीन नेता को थि त्या भने खुलाएका छैनन् ।
उनले तत्कालीन नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई नेपाललाई गणतन्त्रमा पुर्याउने युगान्तकारी संघर्षका महानायकहरुको संज्ञा पनि दिएका छन् ।
“नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौं नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ । तर, वि सं २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा (एमाले)का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) हुनुहुन्थ्यो । उहाँहरुमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न । अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ,” वक्तव्यमा भनिएको छ ।
उनले शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाडि बढ्न आह्वान पनि गरेका छन् ।