काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थाबारे पुनर्विचार गर्न आग्रह गरेका छ । गणतन्त्र दिवसका दिन एकाबिहानै सामाजिक सञ्जालमार्फत थापाले यस्तो आग्रह गरेका हुन् ।
‘१३ बर्ष अघि आजकै दिन नेपाली राष्ट्रियता र एकताको प्रतीक राजसंस्थालाई पाखा लगाई गणतन्त्र घोषणा गरिएको थियो’ थापाको ट्विटमा भनिएको छ, ‘राजसंस्था हटाएर देश र जनता बलियो भएका छैनन् । बरू भ्रष्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बिदेशी हस्तक्षेपले राष्ट्र कमजोर भएको छ । त्यसर्थ, राजसंस्थासहितको प्रजातन्त्र पुनर्स्थापनाबारे पुनर्विचार गरौँ ।’
यसअघि अध्यक्ष थापाले आफूलाई केपी ओली निकट भएको भनेर लागेको आरोपको खण्डन गरेका थिए ।
‘चुनाव संकट समाधानको उपयुक्त विकल्प हो भन्दा प्रधानमन्त्रीको पक्ष लियो भन्छन् । तर, ओलीले देश बर्बाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन् ।’ राप्रपा अध्यक्ष थापा भन्छन्, ‘चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनः ओली नै प्रधानमन्त्री हुन्छन् । यो भविष्यवाणी होइन, संसदीय गणितले त्यही भन्छ ।’
