धनगढी: सुदूरपश्चिम प्रदेशमा मन्त्रीमण्डल विस्तारको तयारी भएको छ । नेकपा एमाले र माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री नियुक्त गर्ने र आजै प्रदेश प्रमुखबाट सपथ ग्रहण गराउने तयारी भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक कर्मचारीले दिएको जानकारी अनुसार प्रदेशमा एमालेको तर्फबाट तारालामा तामाङ, दीर्घ सोडारी, पूर्णा जोशी तथा माओवादी केन्द्रबाट मानबहादुर सुनार र मानवहादुर धामीको मन्त्रीमा नियुक्त हुने चर्चा छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाशवहादुर शाहको पनि जिम्मेवारी फेरिने चर्चा छ । उनलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरिने स्रोतले बतायो ।
नेकपा एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नगर्ने अडानकाबीच एमाले प्रदेश संसदीय दलको माधव पक्षले उल्टै मन्त्री थप्ने योजना बनाएको छ । संसदीय दलको बुधबारको बैठकले यही सरकारलाई निरन्तरता दिने निर्णय गरेको थियो ।