धनगढी: नेकपा एमालेबाट निष्काशित नेता भीम रावल सुदूरपश्चिमका पार्टी इञ्चार्ज समेत थिए । एमालेको सुदूरपश्चिम हेर्ने जिम्मेवारी बोकेका रावलले विगतमा एमालेलाई सफलता दिलाएका थिए । एमालेका आन्तरिक संगठनमा पनि रावलको सुदूरपश्चिममा बलियो पकड रहँदै आयो । त्यसको प्रभाव आज देखिएको छ ।
सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेले त्रिलोचन भट्ट नेतृत्वलाई दिइआएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । स्थायी कमिटी बैठकले निर्णय गरी सुदूरपश्चिम प्रदेशमा पत्र समेत पठायो । तर, आज प्रदेश संसदीय दलको बैठक बसेर केन्द्रको निर्देशनविरुद्ध निर्णय गरेको छ । तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेर सुदूरपश्चिम प्रदेशको एमाले संगठनले अध्यक्ष केपी शर्मा ओलीलाई धक्का दिएको छ ।
एमालेको सबै प्रदेशमा बहुमतमा रहेका ओली सुदूरपश्चिममा भने धक्का खान पुगे । उनी त्यहाँ अल्पमतमा देखिए । कर्णालीमा यसअघि विद्रोह भई ह्वीप उल्लंघनको घटना भएको थियो ।