धनगढी: माधव नेपाल पक्षमै एक मत हुन नसकेपछि आज बस्ने भनिएको एमाले संसदीय दलको बैठक अहिलेसम्म बस्न सकेको छैन।
मंगलबार बिहान संसदीय दलको नेता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाहले आफ्नो पक्षका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए।
८ बजे दलको कार्यालय पुगेका केही सांसद दलको नेता नै नआएपछि अनौपचारिक छलफल गरेरै बाहिरिएका थिए। उनीहरूले तयारी गरेर एमालेका जम्मै २५ जना नै उपस्थित हुने गरी दलको बैठक बस्न आग्रह गरेका थिए।
संसदीय दलका नेता शाहले मंगलबार बिहान आफ्नो पक्षका मात्रै सांसदलाई बैठकमा बोलाएका थिए। दलको नेतालाई ओली पक्षका सांसदहरूलाई पनि बोलाउन दबाब आएपछि अहिले सम्म दलको बैठक बस्न नसकेको हो।
‘हामीलाई बिहान ८ बजे दलको कार्यालयमा उपस्थित हुन भनेर दलको नेताले बेलाउनुभयो। उहाँ नै आउनु भएन’, एक सांसदले भने, ‘अहिलेसम्म फेरि बस्ने टुंगो छैन। ’
उनका अनुसार मंगलबार बिहान ८ बजे पछि दलको कार्यालयमा १० जना सांसद उपस्थित भएका थिए। दलको नेता र प्रमुख सचेतक नै नआएपछि उनीहरुले अनौपचारिक छलफल गरेर फर्किएका थिए।
सोमबार एमालेको स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको छ।
एउटै पक्षभित्र पनि मतभेद देखिएपछि ८ बजे स्थगित भएको बैठक अझै आह्वान गरिएको छैन। प्रमुख सचेतक तारालामा तामासँगको सल्लाहपछि साढे १२ बजेपछि बैठक आह्वान हुनसक्ने बताइएको थियो। तर, त्यो समयमा पनि बैठक बस्न सकेन।
२४ घण्टाभित्रै सरकारबाट फिर्ता हुन आएको निर्देशन र समर्थन फिर्ताका बिषयमा छलफल गर्नुपर्ने हुँदा दलको बैठक मंगलबार नै राख्न दबाब छ।
दलको नेता अहिले प्रमुख सचेतक तारा लामा तामाङसँग प्रमुख सचेतक कै कार्यकक्षमा छन्। तामाङको कार्यकक्षमा एमालेका नेपाल पक्षीय सांसद कुलवीर चौधरी, अमर साउद, प्रकाश रावल, दीर्घ सोडारीले दलको नेतालाई कुरिरहेका थिए। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी भने केहीबेर संवाद गरेर अहिले निस्केका छन्।