धनगढी: सदूरपश्चिममा लगातारको वर्षाले लाखौको क्षति गरेको छ।
निरन्तरको वर्षाले कञ्चनपुर स्थित महाकाली नदीमा पानीको बहाव बढेपछि निर्माणाधीन ४ लेन पुलको काम प्रभावित भएको छ। २ दिनको लगातार वर्षाका कारण नदीमा पानीको बहाव बढ्दा पुल निर्माणको कार्य प्रभावित भएको हो।
नदीमा पानीको बहाव बढ्दा निर्माण कम्पनीले पुलमा कालोपत्रे गर्न बनाएको प्लान्ट, कालोपत्रे गर्ने मेसिनसहितका उपकरण बगाएको भीमदत्त नगरपालिका वडा नं। १३ का वडा अध्यक्ष लालबहादुर शाहीले जानकारी दिए।
जसबाट करोडभन्दा बढीको क्षति भएको र निर्माणको कार्य प्रभावित भएको वडाअध्यक्ष शाहीले बताए। करिब ७५ प्रतिशत काम पूरा भइसकेको पुल निर्माणको कार्य प्रभावित भएको छ। उक्त पुल निर्माणको कार्य कुमार श्रेष्ठ निर्माण सेवाले गरिरहेको छ।
यसै बीच पुलमा काम गर्ने १० कामदारसमेत नदीको बीचमा रहेको टापुमा फसेका थिए। पानीको बहाव घटेपछि उनीहरुलाई प्रहरीको सहयोगले सुरक्षित स्थानमा सारिएको वडा अध्यक्ष शाहीले बताए।
डडेल्धुरामा निर्माणाधीन पुल नै बगायो
लगातारको अविरल वर्षासँगै आएको बाढीले डडेल्धुरामा निर्माणाधीन मोटेरेबल पुल बगाएको छ। जिल्लाको गन्यापधुरा गाउँपालिका– ३ र नवदुर्गा गाउँपालिका–३ लाई जोड्ने लमखेती गाडको सकाइल खण्डमा सडक विभागले निर्माण गरिरहेको पुलबुधबारदेखि परिरहेको वर्षासँगै आएको बाढीले बगाएको हो।
सकाइल हुँदै नवदुर्गा गाउँपालिकाको डाँणा वन जोड्ने सडकखण्डको लमखेती गाडमा निर्माण भइरहेको पुल बगाएको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्लले बताए।
अध्यक्ष मल्लले भने, ‘पानी थुन्न बाँधिएको ड्यामको एक दुई ठाउँबाट निकास दिन खोज्दा माटोको ढिस्को फुटेर ढलान गर्न ठिक्क पारिएको पुल बगाएको हो। पिल्लर नबगाएपनि सटरिङ गरिएका सबै बगाएको छ।’ पाँच करोड ५२ लाखमा ठेक्का पाएको राजेन्द्र चाँदनी जेभीले पुल निर्माणको काम गरिरहेको थियो।
एक्कासी आएको बाढीले ड्याम थुनिए पनि पुल भने बगाएको जेभीका सञ्चालक आकाश गुरुङले बताए। करिब ६ वर्षअघि ठेक्का सम्झौता भएको सो पुलको सम्झौता अवधि आउँदो असारमा सकिने उनले बताए। शुक्रबार पुलको ढलान गर्ने तयारी समेत गरिएको थियो।
तर ढलान अगावै बाढीले पुल भत्काएपछि अब सबै काम प्रभावित भएको गुरुङले बताए। उनले अहिले पनि वर्षा जारी रहेकाले काम गर्न सक्ने अवस्था नरहेकाले भदौपछि मात्र बाँकी निर्माण कार्यअगाडि बढाउने जानकारी दिए।
धौलीगंगा बाँधको ढोका खोलिँदै, सतर्क रहन अपिल
दार्चुलासँग सीमा जोडिएको भारतको धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएको छ। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै लगातार वर्षाका कारण नदीमा पानीको बहाव बढेकाले ढोका खोलिने जानकारी दिएको हो। नदीमा पानीको बहाव बढेपछि महाकाली नदी किनार क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जारी गरेको सूचनामा महाकाली नदीमा जुनसुकै बेला पानीको बहाव बढ्न सक्ने भएकाले जिल्लाको व्यास गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका बासिन्दालाई पूर्व सतर्कता अपनाउन भनिएको छ।