काठमाडौँ : बाग्मती प्रदेशमा आज राष्ट्रिय सभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ । रिक्त रहेको एक सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।
निर्वाचन आयोगका अनुसार आज (बिहीबार) बिहान ९ बजेबाज मतदान सुरु भएर दिउँसो ३ बजेसम्म सकिन बताएको छ । मतदानका लागि तीनवटा बुथ तयार गरिएको छ । मतदान केन्द्र भने मकवानपुरको हेटौँडा उपमहानगर– ४ स्थित भुटनदेवी माविमा राखिएको छ ।
जसअनुसार ‘क’ बुथमा प्रदेशसभा सदस्यहरुले मतदान गर्नेछन् भने ‘ख’मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । त्यसैगरी कोरोना संक्रमित मतदाताहरुका लागि ‘ग’ बुथ बनाइएको हो । राष्ट्रिय सभा सदस्य चयनका लागि सम्बन्धित प्रदेशका प्रदेश सभा सदस्यहरु र उक्त प्रदेशभित्रका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहने व्यवस्था छ ।
हाल बाग्मती प्रदेश सभामा कायम ११० सदस्य र बाग्मती प्रदेशअन्तर्गतका सबै गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी २३८ जना रहेका छन् । सबै लगाएर कुल ३४८ मतदाता रहेको बताइएको छ ।
राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका रामबहादुर थापा ‘बादल’लाई एमालेले आधिकारिक उम्मेदवारका रुपमा अघि सारेको छ । उता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र एमालेकै माधव नेपाल समूहको संयुक्त गठबन्धनबाट खिमलाल देवकोटालाई प्रतिस्पर्धी उम्मेदवारका रुपमा अघि सारिएको छ । साथै अर्का उम्मेदवार नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङ रहेका छन् । तापनि मुख्य प्रतिस्पर्धा गृहमन्त्री समेत रहेका बादल र संयुक्त गठबन्धनका देवकोटाबीच हुने देखिन्छ ।
एमालेले बादललाई मतदान गर्न ह्वीप जारी गरे पनि माधव समूहले के गर्छ भन्ने अन्यौल नै रहेको छ । यदिन माधव नेपाल समूहले देवकोटालाई मतदान गरेमा उनी विजयी हुने सम्भावना बढी छ । अन्यथा बादलले नै बाजी मार्न सक्ने देखिन्छ । बादलको चुनाव चिह्न सूर्य रहेको छ भने देवकोटाको कलम । यस्तै नेमकिपा उम्मेदवार तामाङले मादल चिह्न पाएका छन् ।
राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय जनप्रतिनिधिको मतभार १८ गणना हुनेछ ।
