काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चारजना नेतामाथिको कारबाही फुकुवा गरेलगत्तै वरिष्ठ नेता माधवकुमार नेपाललाई फोन गरेका छन्। बालुवाटारमा बसेको स्थायी कमिटी बैठकस्थलबाटै ओलीले नेपाललाई फोन गरेका हुन्।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको एमाले स्थायी कमिटी बैठकबाट वरिष्ठ नेताहरु माधवकुमार नेपाल, भीमबहादुर रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता गरिएको छ।
उक्त निर्णयलगत्तै एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालसँग फोनवार्ता गरेका हुन्। उक्त फोन वार्तापछि दुई नेताबीच आजै भेट्ने समझदारी बनेको छ।
नेपालसँग भेटका लागि ओली बालुवाटारबाट निस्किँदै छन्। यसअघि वैशाख ७ र ९ मा ओली र नेपालबीच होटल मेरियटमा भेटवार्ता भएको थियो। त्यसपछि वैशाख २४ मा दुई नेताबीच थापाथली हाइटस्थित एमालेको नयाँ कार्यालयमा भेट्ने योजना थियो।
तर ओली जेठ २ मा फर्किन तयार नभएपछि उक्त भेट तुहिएको थियो। त्यसपछि वैशाख २७ मा ओलीले विश्वासको मत लिन असफल भइसकेका छन्। यसबीचमा माधव नेपाल पक्षका दर्जन बढी सांसदले आजै राजीनामा दिने चर्चा भइरहेका बेला दुई नेताबीच वार्ता हुन लागेको हो।
ओली चार नेतामाथिको कारबाही फिर्तापछि एमालेका सबै नेता सम्मिलित स्थायी कमिटी बैठक राख्न तयार भएका छन्। तर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई बर्खास्त गरिएको निर्णयबारे अझै केही भनिएको छैन।