काठमाडौं २८ बैशाख/धनगढी एफसी पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएलको फाइनलमा प्रवेश गरेको छ ।मंगलबार भएको पहिलो प्लेअफमा काठमाडौं रेजर्सलाई अतिरिक्त समयमा २(१ गोल अन्तरले पराजित गर्दै धनगढी फाइनल पुगेको हो ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा धनगढीलाई जित दिलाउन पुजन उपरकोटी र विशाल राईले एक एक गोल गरे ।काठमाडौंका तेज तामाङले एक गोल फर्काए ।
खेलको निर्धारित ९० मिनेटको समय १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो ।अतिरिक्त समयमा मार्की खेलाडी विशाल चम्किएपछि धनगढी फाइनल पुगेको हो । खेलको १ सय ८ औं मिनेटमा रमेश दंगालको पासमा अनमार्क रहेका विशालले गोल गर्दै टिमलाई फाइनलको यात्रा तय गराए ।
त्यसअघि खेलको ७५ औं मिनेटमा तेज तामाङले गोल गर्दै काठमाडौंलाई १(० को अग्रता दिलाएका थिए । मेसौकेको क्रसमा तेजले वन टचमा गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्।तर, खेलको ७८ औं मिनेटमा पुजन उपरकोटीको गोलबाट धनगढीले बराबरी गोल फर्काएको थियो । फ्रान्कलिनको हेडर पासमा काठमाडौंका गोलकिपर विकेश कुथु अगाडी बढेको फाइदा उठाउदै पुजनले उत्कृष्ट बाइसाइकल गोल गरे ।
खेलमा धनगढीका फ्रान्कलिन कुइटे प्लेयर अफ दि म्याच चुनिए । उनले २५ हजार प्राप्त गरे ।इमर्जिङ प्लेयर अफ दि म्याच धनगढीका सौजन राई चुनिए । उनले १० हजार प्राप्त गरे ।धनगढीसँग पराजित काठमाडौंले अब फाइनल प्रवेशको लागि इलिमिनेटर खेल खेल्नेछ ।इलिमिनेटरमा काठमाडौंले ललितपुर सिटी र बुटवल लुम्बिनी एफसीबीचको विजेतासँग खेल्नेछ । ललितपुर र बुटवलबीचको दोस्रो प्ले अफ बुधबार हुनेछ ।