एजेन्सी। स्टाम्फोर्ड ब्रिजमा स्पेनिस महारथी रियल मड्रिडमाथि २–० को सहज जितका साथ समग्रमा ३–१ को नतिजा निकाल्दै चेल्सीले यस सिजनको च्याम्पियन्स लिग फाइनलमा इंग्लिस प्रिमियर लिगमा आफ्नो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको सामना गर्ने भएको छ। फाइनल मे २९ मा टर्कीको इस्तानबुलमा हुनेछ।
थोमस टचेलको आगमनसँगै चामत्कारिक परिवर्तन देखिएको चेल्सीका लागि गोलरक्षक एडोवार्ड मेण्डीको प्रदर्शन शानदार रह्यो। पहिलो हाफमा उनले करिम बेन्जेमाको शशक्त दुई प्रहारलाई रोकेका थिए। अघिल्लो साता सान्टियागो वर्नबाउमा १–१ को बारबरी खेलेको चेल्सीले २८ औं मिनेटमा टिमो वेर्नरको गोलबाट अग्रता बनायो। काई हाभेर्टजले गरेको प्रहार बारमा लागेर फर्किएपछि वेर्नरले लगभग गोललाइनबाट हेड गोल गरेका थिए।
दोस्रो हाफ पूर्णतः चेल्सीको नियन्त्रणमा थियो। उसले आफ्ना पूर्व गोलरक्षक थियावट कोर्टवालाई पछि पार्न कठिन भइरहेको थियो। हाभेर्टज्, एनगोलो कान्टे लगायतको प्रहार कोर्टवाले रोकेका थिए। ८५ औं मिनेटमा मासोन माउन्टले गोल गरेपछि चेल्सीको फाइनल यात्रा निश्चित बन्यो । चेल्सी सन् २०१२ पछि पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो। जनवरीमा क्लबका लिजेन्ड फ्र्यांक लाम्पार्डलाई बर्खास्त गरिएपछि आएका थोमस टचेलले क्लबमा उल्लेख्य परिवर्तन गरेका छन्।
उनले लगातार दोस्रोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुग्ने अवसरसमेत पाएका छन्। अघिल्लो सिजन पेरिस सेन्ट जर्मेइन (पीएसजी)मा रहँदा उनको टोली फाइनलमा बायर्न म्यूनिखसँग पराजित रहेको थियो।
