पोखरा/ नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा यसै महिना तय भएको पाँचौ संस्करणको पोखरा स्पोर्ट्स अवार्ड स्थगित भएको छ ।कोरोना भाइरस कोभिड–१९ को महामारीलाई मध्यनजर गर्दै कास्की जिल्ला कार्यालयले १५ देखि २१ बैशाखसम्म निषेधाज्ञा लगाएपछि मञ्चका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा बिहीबार बसेको आकस्मिक बैठकले अवार्ड स्थगित गर्न परेको विज्ञप्तिमार्फत जनाएको छ । अवार्ड कार्यक्रम विश्व प्रेस स्वतन्त्रता दिवसको दिन अर्थात २० बैशाखमा आयोजना हुने तालिका रहेको थियो ।
मञ्चले विगतका चार वर्ष अवार्ड आयोजना गर्दा गत वर्ष कोरोना महामारीका कारण स्थगित भएको थियो । मञ्चले अघिल्लो वर्षको स्थगित अवार्डलाई समेट्दै यो वर्ष २०७६–७७ दुबैलाई एकैपटक गर्ने योजना बनाएको थियो । मञ्चले अवार्ड वितरण तयारीलाई अन्तिम चरणमा पु¥याइसकेको थियो ।
विगतमा झै लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेल संघ र उत्कृष्ट खेल पत्रकारलाई अवार्ड वितरण गरिने गरी उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरी अन्तिम तयारीमा जुटिरहँदा कोभिड–१९ को चेन ब्रेक गर्ने भन्दै जिल्ला प्रशासन कार्यालय कास्कीले एक साता निषेधाज्ञा जारी गरेपछि अवार्ड समारोह तत्कालका लागि आयोजना गर्न परिस्थिति नभएपछि मञ्चको आकास्मिक बैठकले उपयुुक्त समय मिलाएर पछि वितरण गरिने जनाएको छ ।