टेकसिँह धामी/ धनगढी: मुलुकको एक छेउमा अवस्थित सुदूरपश्चिम भौगोलिक तथा जैविक एवं प्राकृतिक विविधताले जति सुन्दर छ, यस क्षेत्रमा कायम कुप्रथाहरूले प्रदेशका सबै सुन्दरताहरूलाई छायामा पारिदिएको महसुस हुन्छ।
विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्र, प्राकृतिक तथा जैविक विविधता र बहुसांस्कृतिक परम्पराले सुदूरपश्चिम क्षेत्र निकै चर्चामा छ। तरपनि यहाँको समाजमा व्याप्त छाउपडी, महिला हिंसा तथा विभिन्न अन्धविश्वासका कारण बदनाम पनि हुन पुगेको छ।
सुदूरपश्चिमु नाम सुन्नासाथ अधिकांश नागरिकको दिमागमा छाउपडी प्रथा कायम रहेको क्षेत्र नाच्छ। घरभन्दा निकै टाढा एकान्तमा रहेको छाउपडी गोठमा बस्दा बलात्कृत हुने, सर्पले डस्ने, हिंस्रक जंगली जनावरले शिकार बनाउने गरेका घटना बारम्बार सुन्नुपर्छ।
छाउपडी लगायत विभिन्न कुप्रथाका कारण सुदूरपश्चिममा वर्षेनी सयौं महिलाले अकालमै ज्यान गुमाउनुपरेको छ। यहाँ यस्ता वियोगका प्रशस्त उदाहरण भेटिन्छन्। कलकलाउँदो उमेरमा महिनावारी अर्थात् स्थानीय भाषामा छाउ भएपछि गोठमै बस्न बाध्य बनाइने गरिएका कारण यहाँका महिलाहरू मृत्युको मुखमा पुग्न बाध्य छन्।
प्रदेशका ९ मध्ये ७ वटा पहाडी जिल्लाका अधिकांश महिलाहरू छाउपडी प्रथाका कारण बर्सेनि मृत्युको शिकार भइरहेका छन्। तर, छाउ प्रथा खासै रोकथाम तथा उन्मुलन हुन सकेको छैन।
यहाँका पहाडी जिल्लामा छाउसँग जोडिएका विभिन्न अन्धविश्वास कायमै छन्। प्रदेशका शहरी क्षेत्रसमेत यही अन्धविश्वासमा गाँजिएको छ। त्यसकारण पनि यो प्रथा अन्त्य हुन नसकेको हो।
प्रदेश राजधानी रहेको जिल्ला कैलालीमै छाउगोठ प्रथा कायम छ। शिक्षित, बुद्धिजीवि र आधुनिक सम्पन्नता भोगिरहेका मानिसहरू बस्ने राजधानीमै ुपरापूर्व कालदेखि चलिआएको प्रथाका नाममा यो कुप्रथा कायमै छ। रजस्वला प्राकृतिक प्रकृया भएपनि पुरातन सोचका कारण यहाँका महिलाहरू छाउगोठमा बस्न बाध्य छन्।
आर्थिक वर्ष २०७६र०७७ मा अछाममा एक जना महिलाको छाउगोठमा ज्यान गयो। यो प्रथाले ज्यान लिएको भन्दै चौतर्फी दबाब सिर्जना भयो।
नेपाल सरकारले सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका विभिन्न ठाउँमा छाउ गोठहरू भत्काउने अभियान नै सञ्चालन गर्यो। तर, अभियान सञ्चालन गरेको एक वर्ष नाघ्दा समेत महिलाहरू छाउगोठमा बस्न बाध्य छन्।
प्रदेश राजधानी रहेको जिल्ला कैलालीको गोदावरी नगरपालिकाकी गौमति बोगटीलाई प्रत्येक महिनाको ६ दिन आफू मर्ने हो कि बाँच्ने भन्ने डरले सताउने गर्छ।
उनी महिनावारी हुने बित्तिकै छाउगोठमा बस्न बाध्य हुन्छिन्। छाउगोठमा बस्नु हुन्न भन्ने पनि थाहा छ। तर, उनका परिवारमा रहेका सदस्यका कारण छुट्टै गोठमा बस्न बाध्य भएको बोगटी बताउँछिन्।
उनकै जस्तो पीडा कैलालीकै टीकापुरकी स्वस्तिका शाहले पनि ब्यहोर्दै आएकी छिन्। १८ वर्षकी उनलाई पनि छाउपडी प्रथाबाट छुटकारा मिलेको छैन।
उनकी आमा पनि छाउ भएका बेला छुट्टै गोठमा बस्ने गर्छिन्। समाजमा छाउ भएका बेला घरभित्र बस्दा कुलदेउता रिसाउने र अनिष्ट हुने भन्ने सोच रहेकोले छुट्टै बस्नुपर्ने शाहले बताइन्।
समाजमा रहेको यो सोचका कारण गत साल भत्काइएका छाउगोठ पनि भत्काएको केही दिनमै ठडिए। अहिले सबै महिलाहरू रजस्वला हुँदा छाउगोठमै बस्ने गरेको उनको भनाई छ। महिनावारी भएका बेला आफूहरू शारीरिक रूपमा समेत कमजोर हुने गरेपनि छाउगोठमा बस्नुपर्दा झनै मानसिक तनाव समेत हुने गरेको र जसकारण पढाईमा समेत बाधा पुग्ने गरेको दुखेसो उनले पोखिन्।
धनगढी उपमहानगरपालिका-१२, जुगेडाकी जमुना विक अझै पनि छाउगोठमै बस्छिन्।
उनी भन्छिन्, छाउगोठमा बस्दा दुस्ख त हुन्छ, तर बस्नैपर्छ। चिसो समयमा कठ्यांग्रिदो चिसो सहनुपर्छ। गर्मीको समयमा सर्प कतिबेला आउँछन् र टोक्छन् भन्ने डरबीच गोठमा बस्नुपर्छ।
छाउ भएका महिलाले अलग्गै नबसे अनर्थ हुने मानसिकता रहेका कारण आफूहरू बाध्य भएर छाउ गोठमा बस्नुपरेको विकले बताइन्।
छाउपडी हटाउने भन्दै होटल होटलमा कार्यक्रम, उपलब्धि शून्य
छाउपडी हटाउने भन्दै सरकारी तथा गैरसरकारी संघसंस्थाहरूले दिनहुँजसो गोष्ठीहरू सञ्चालन गर्दै आएका छन्।
ती गोष्ठीहरूमा समाजका अगुवाहरू भनिनेलाई मात्रै बोलाइन्छ। यस्ता कर्मकाण्डी कार्यक्रमहरू बजेट सिध्याउने माध्यममात्रै बनेका छन्। तर, छाउगोठमा बस्ने महिलाहरूको पीडा उस्तै छ।
गोष्ठीका नामका थुप्रै कार्यक्रम होटलका बन्द कोठामा सञ्चालन गर्दा समाजमा रहेको सोच परिवर्तन नहुने धनगढी जुगेडाकी रमिता शाही बताउँछिन्।
दिनहुँजसो यस्ता कार्यक्रम हुने गरेपनि उपलब्धि भने शून्यप्रायस् छ, उनले भनिन्, छाउगोठबाट महिलाहरूलाई मुक्त गर्न सम्वन्धीत क्षेत्रमा गएर सचेतना फैलाउनुपर्ने र त्यस क्षेत्रलाई लक्षित गरेर छाउगोठ बस्न नदिने महिलाका परिवारलाई पुरस्कृत एवम बस्न बाध्य बनाउने परिवारका सदस्यलाई राज्यबाट पाउने सेवासुविधाबाट वञ्चित गर्न सकेमात्र यो समस्या हट्ला, नत्र कुसंस्कारको यो कालो मुस्लो सुदूरमा मडारिइहन्छ।
