धनगढी: पौडी खेलाडी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१ मा परेकी छन् । चर्चित अमेरिकी म्यागजिन फोर्ब्सले मंगलबार सार्वजनिक गरेको सूचीमा गौरिका ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा परेकी हुन् ।
सात वर्षयता नेपाली पौडीमा सनसनीपूण प्रदर्शन गरिरहेकी १८ वर्षीया गौरिकालाई प्रभावशाली युवामा समावेश गर्दै फोर्ब्सले लेखेको छ, ‘गौरिका सिंह नौ वर्ष भएदेखि नै पौडीमा छिन् र १२ वर्षदेखि नै नेपालको लागि प्रतिस्पर्धा गरिरहेकी छन् । दक्षिण एसियाली खेलकुद २०१९ मा चार स्वर्ण, दुई रजत र तीन कांस्यपदक जितिन् । उनी रियो ओलम्पिक २०१६ मा सबभन्दा कम उमेरकी खेलाडी थिइन् । उनी टोकियो ओलम्पिक २०२० लाई पनि छनोट भएकी छन्, जुन स्थगित भएर जुलाई–अगस्ट २०२१ मा हुदैछ । पौडीबाहेक उनी समाजसेवामा पनि संलग्न छिन् । उनी गैरनाफामूलक संस्थाहरू माइती नेपाल र शान्ति एजुकेसन इनिसिएटिभकी सद्भावना दूत हुन् ।’
यसपाली गौरिकासहित दुई नेपाली युवा फोर्ब्सको सूचीमा परेका छन् । २९ वर्षीय प्रकाश काइराला ‘फाइनन्स एन्ड भेन्चर क्यापिटल’ तर्फ महादेशकै प्रभावशाली ३० युवामा पुगेका हुन् । फिनलिट नेपालका यी संस्थापकले सन् २००९ यता वितीय साक्षरताको अभियान चलाइरहेका छन् ।
फोर्ब्सको सूचीमा छनोट भएपछि गौरिकाले आफ्नो इन्स्टाग्राममा पोष्ट गरेकी छन्, ‘अत्यन्तै खुसी छु । फोर्ब्स थर्टी अन्डर ३० एसियाको क्लास अफ २०२१ मा छनोट भएको घोषणा गर्न पाउँदा एकदमै खुसी छु । म साँच्चिकै प्रतिभावान् र धैर्य मानिसहरूसँगै सम्मानित भएकी छु । र, म खेलकुदमा महिला र मेरो देश दुवैको प्रतिनिधित्व गर्न सक्षम भएकी छु ।’