धनगढी: उच्च ओहोदामा पुगेपछि विगतको कर्मलाई बिर्सनेहरु धेरै हुन्छन्। पदमा पुगेपछि विलासिताको जीवन जिउने प्रचलनजस्तै बनिरहेका बेला कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का ६४ वर्षीय पूर्वमन्त्री जयदेव जोशीले भने न्याय क्षेत्रको सक्रियतालाई निरन्तरता दिँदै आउनुभएको छ।
विसं २०२८ देखि राजनीति र २०३६ देखि लेखापढी व्यवसायमा आबद्ध पूर्वमन्त्री जोशी नेकपा संयुक्तको केन्द्रीय पोलिटब्यूरो सदस्यसम्मको जिम्मेवारी बहन गरिसकेको बताए। विसं २०७२ मा जनसङ्खया तथा वातावरणमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका जोशीले अहिले कञ्चनपुरमा वकालत पेशा गरिरहनुभएको छ।
“एघार महिना पार्टीको जिम्मेवारीअनुसार मन्त्री भएर काम गरेँ”, रासससित कुराकानी गर्दै उनले भने, “धेरैले काठमाडौँमै बसेर राजनीतिमा सक्रिय हुन भने तर म गृहजिल्लामै आएर पुरानै पेशामा फर्किएँ ।” सामान्य परिवार र सामान्य जीवनयापन गरिरहनुभएका जोशीले यहाँ लामो समयदेखि न्यायमा पहुँच नभएका र आर्थिक अवस्था कमजोर सेवाग्राहीलाई निःशुल्क कानूनी सेवा दिइरहेको बताए।
दार्चुलाको लेकम गाउँपालिकामा जन्मिनुभएका जोशी लेखापढीबाटै अधिवक्ता भएको एघार वर्ष भइसकेको बताए। “मन्त्री हुँदा अन्तर्राष्ट्रिय मञ्चमा मौसम परिर्वतन र त्यसको हिमालमा पर्ने असरका बारेमा बोलेँ”, उनले भने, “पदमा रहँदा कहीँकतैबाट लाभ लिने विषय सोच्नसम्म सोचिनँ।” उहाँले लामो समयदेखि वकालत पेशामा रहँदा पाएको स्नेह र सम्बन्धलाई जीवन्त राख्न सक्रिय रहेको बताए।
नेकपा संयुक्तले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फबाट तीन सांसद पाएको थियो। “पार्टीले क्षेत्र, भेग र वर्ग मिलाउँदा सुदूरपश्चिमबाट मलाई सांसद बनाएको थियो”, उनले भने, “अहिले पनि राजनीतिसँगै वकालत पेशामा संलग्न छु।” छोरा–बुहारीलाई काठमाडौँमा व्यवस्थापन गरेर श्रीमतीसँगै महेन्द्रनगरमा बसिरहनुभएका जोशीले वकालत पेशाबाट पाइने पारिश्रमिकबाट खर्च चलिरहेको बताए।
“एकपटक मन्त्री हुँदा पटक–पटक त्यही पदको आडमा थुप्रै फाइदा लिएका र लिने गरेका मान्छे देखेको छु”, उनले भने, “म मन्त्री पद त्यागेको १० मिनेटमै सरकारी गाडी र सुरक्षागार्ड फिर्ता पठाएको मान्छे हुँ।” उनले उमेर पाको अवस्थामा पुगे पनि न्यायका लागि गुहार माग्न आउनेहरुको कमी नआएको बताए।
“पद क्षणिक हुन्, समाजसितको सम्बन्ध जहिल्यै सुमधुर भए मात्रै जिउनुको मजा आउँछ”, उनले भने, “अहिले त राजनीति आर्थिक मुनाफा र भ्रष्टाचारसित जोडिएको देख्दा उदेक लागेर आउँछ ।” नागरिकहरू अधिकारप्रति सचेत भइरहेकै कारण अहिले न्यायका निम्ति आउने क्रम पनि बढिरहेको उनको भनाइ छ।
घरमै साइनिङ पाथ ल–फर्म सञ्चालन गरिरहनुभएका जोशीले सिद्धान्तको अनुसरण गरेर राजनीतिमा लाग्नेभन्दा स्वार्थ राखेर सक्रिय हुने क्रम मुलुकका लागि हितकर नहुने बताए। सधैँ सामान्य जीवन जिउन रुचाउने पूर्वमन्त्री जोशी काठमाडाँैसम्मको यात्रा सधैँ सार्वजनिक बसबाट गर्दै आएको बताए। “एकपटक बसमा गएको देखेपछि एउटा साथीले जबर्जस्ती जहाजको टिकट बनाएर काठमाडौँै पठाए”, जोशीले भने, “मन्त्री हुँदा पनि मैले सुखसयल हेरिनँ।”
