काठमाडौं : नेकपा एमालेले पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण पत्र बुझाएको छ । पार्टी केन्द्रीय कार्यालयबाट गएका कर्मचारीले नेताको घरघरमै पुगेर खामबन्दी स्पष्टीकरणपत्र बुझाएको कार्यालय सचिव ईश्वरी रिजालले बताए ।शनिवार सम्पन्न एमाले केन्द्रीय कमिटी बैठकले पार्टीविरुद्ध गुटबन्दी गरेको,समानान्तर कमिटीहरू बनाउन थालेको र पार्टी तथा सरकारविरुद्ध षड्यन्त्र गरेको भन्दै चार नेतासँग स्पष्टीकरण लिने निर्णय गरेको थियो ।
वरिष्ठ नेता नेपालका स्वकीय सचिव नितेस पौडेलले पत्र बुझेका छन् । त्यस्तै सुरेन्द्र पाण्डेका स्वकीय सचिव सन्जिव पाण्डेलाई पत्र बुझाइएको छ भने अर्का नेता भीम रावलले भने स्पष्टीकरणपत्र बुझ्न अस्वीकार गरेका छन् । गेटबाट भित्र छिर्न नदिएपछि कर्मचारीले टोखास्थित कोलोनीको सी १४ नम्बर घरको लेटर बक्समा पत्र छिराएर फर्किएका छन् ।
उता अर्का नेता घनश्याम भुसालले भने मोबाइल स्वीच अफ गरेकाले पत्र बुझाउन बाँकी रहेको एमाले कार्यालय स्रोतले जनायो ।
नेताहरुलाई बुभाइएको स्पष्टिकरणपत्रमा तीन दिनभित्र चित्त बुझ्ने जवाफ नआएमा कारबाही किन नगर्ने भन्ने ब्यहोरा उल्लेख छ भने पत्रमा महासचिव ईश्वर पोखरेलको हस्ताक्षर छ ।
