काठमाडौः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ।
निगमले मङ्गलबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रूपैयाँले वृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १ सय १८ र डिजेल तथा मट्टितेलको १ सय १ रूपैयाँ पुगेको छ।
साथै, हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा २ रुपैयाँ वृद्धि गरि ७४ रूपैयाँ प्रतिलिटर पुऱ्याइएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य हाललाई यथावत राखिएको निगमले बताएको छ।
यसअघि निगमले फागुन १७ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले फागुन ४ तथा माघ ६ र २८ गते पनि पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।