धनगढी, चैत ३/ नेपाल सुपर लिग एनएसएलको फ्रेन्चाइज टोली धनगढी फुटबल क्लबले राष्ट्रिय टोलीका मिड फिल्डर विशाल राईलाई मार्की खेलाडीका रूपमा सार्वजनिक गरेको छ ।
धनगढीका मालिक सुवास शाही र विशालले सोमबार सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता रकम भने गोप्य राखिएको छ । मार्की खेलाडी घोषित भएपछि विशालले टिमको लक्ष्य उपाधि जित्नु रहेको बताए ।
विशाल पछिल्लो समय मछिन्द्र क्लबबाट व्यावसायिक फुटबल खेल्दै आएका छन् । २०७६ मा मछिन्द्रले ‘ए’ डिभिजन लिग उपाधि हात पार्दा उनी उत्कृष्ट मिडफिल्डर चुनिएका थिए ।
सन् २०१५ मा राष्ट्रिय टिमबाट डेब्यु गरेका विशालले नेपालका लागि १९ खेल खेल्दा ३ गोल गरेका छन् । विशाल नेपालले बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद साग तथा एएफसी सोलिडारिटी कप जित्दा टोलीको मुख्य सदस्य थिए ।
नेपाल स्पोर्टस् म्यानेजमेन्टले नेपालमै पहिलोपटक आयोजना गर्न लागेको फ्रेन्चाइज फुटबल लिगमा ७ टोलीको सहभागिता रहनेछ ।
लिगमा धनगढीसहित विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, बुटवल–लुम्बिनी एफसी र पोखरा थन्डर्सको सहभागिता रहनेछ ।
आगामी वैशाख ११ देखि २५ सम्म दशरथ रंगशालामा हुने प्रतियोगिता सिंगल राउन्ड रोविनाका आधारमा सञ्चालन गरिनेछ ।