धनगढी, चैत्र १/कञ्चनपुरको बेदकोट नगरपालिका ५ वडाध्यक्ष गणेश विक माथि ढुङ्गा प्रहार भएको छ । गएराती स्थानीय व्यवसायी राजेन्द्र बोहरा र धनराज बोहरा समुहले वडाध्यक्ष माथि ढुङ्गा प्रहार गरेका हुन ।
समान्य विवाद छलफलका क्रममा राजेन्द्र र धनराजले वडाध्यक्ष विक माथि ढुङ्गा प्रहार गरि कुटपिट गरेकोे जनाइएको छ । बोहरा समुहले ढुङ्गा प्रहार गरि सख्त घाईते बनाएको पिडितको भनाइ छ । वडाध्यक्ष विकको मुखमा चोट लागेको छ । उनको अहिले महाकाली अस्पतालमा उपचार भईरहेको छ ।
वडाध्यक्ष विकले समान्य विवाद छलफलका क्रममा बोहरा पक्षबाट ढुङ्गा प्रहारी गरि मार्न खोजेको बताएका छन् । ‘उनीहरु मदिरा सेवन गरेर आएका थिए, ‘वडाध्यक्ष विकले भने, ‘कुरा नबुझ्दै एकाएक आएर ढुङ्गामुढा प्रहार गरि घाईते बनाए, जनताले बचाए ।’ वडाध्यक्षमाथि कुटपिट दुव्र्यवहार गर्ने समुहमाथि बेदकोट नगरपालिकाले कार्बाहीको माग अघि सारेको छ ।
बेदकोट नगरका प्रवक्ता नरेश बहादुर सिहले राजेन्द्र बोहरा र धनराज बोहराले आग्रह र पूर्वाग्रह राखी वडाध्यक्षमाथि दुव्र्यवहार र हातपात गरेको घटनाप्रति दुख व्यक्त गरेको छ । घटनामा जोडिएका दोषि उपर कडा कार्बाहीको माग अघि सारिएको छ । तर दलित अधिकारकर्मीले जातिय गन्ध स्वरुप निर्वाचित वडाध्यक्षमाथि कुनै मुद्दा नभई समान्य विवादमा कुटपिट गर्नेमाथि कार्बाही हुनुपर्ने बताएका छन । पीडित पक्षले न्यायका लागि ज्यान मार्ने उद्योग, सार्वजनिक दुव्र्यवहार र जातिय मुद्दा दायरका गर्ने जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता अमर बहादुर थापाले घटना बारे विस्तृत अनुसन्धान भईरहेको बताए ।