धनगढी, २८ फागुन/सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाभित्र पार्क निर्माणका लागि ४ करोड ९४ लाख बजेट विनियोजन भएको छ । गोदावरी नगरपालिका–१ अत्तरियामा पार्क निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलको साझेदारीमा बजेट विनियोजन भएको हो ।
संघीय मन्त्रालयको ७० प्रतिशत ३ करोड २२ लाख र गोदावरी नगरपालिकाको ३० प्रतिशत १ करोड ७२ लाख गरी आधुनिक र प्रदेशकै नमुना पार्कको रूपमा विकास गर्ने उद्देश्यले बजेट विनियोजन भएको गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकारी दिए ।
‘हामीले यसअघि नै पार्क निर्माणका लागि विस्तुत आयोजना प्रतिवेदन डीपीआर तयार पारेर पर्यटन मन्त्रालयमा पेस गरेका थियौं’, उनले भने । गोदावरी नगरपालिकाको समन्वयमा पर्यटन मन्त्रालयले पार्क निर्माणका लागि बजेट विनियोजन गरेको नगरपालिका कार्यालयले जनाएको छ ।
नगरपालिकाको कार्यपालिका बैठकबाट नगरपालिकाभित्रका ३ वटा पर्यटकीय क्षेत्र निर्माणका लागि सिफारिस गरेकामा अत्तरिया पार्क छनोटमा परेको हो । मन्त्रालयले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाभित्र गरी २७ पर्यटकीय गन्तव्य पूर्वाधार निर्माण गर्ने योजना बनाएको छ । पार्क निर्माण सम्पन्न गर्न १० करोड रुपैयाँसम्म खर्च हुने नगरपालिकाले बताएको छ । रासस