एजेन्सी – फरवार्ड ह्यारी केनको दुई गोल सहयोगमा इंग्लिस क्लब टोटेनहम हटस्परले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा क्रोएसियन क्लब डिनामो जाग्रिवलाई २–० ले पराजित गरेको छ ।
घरेलु मैदान टोटेनहम हटस्पर स्टेडियममा बिहीबार राति भएको खेलमा इंग्लिस फरवार्ड केनले पहिलो र दोस्रो हाफमा समान १–१ गोल गरेका थिए । खेलको २५औं मिनेटमा केनले इरिक लमेलाको पासमा गोल गर्दै टोटेनहमलाई १–० ले अघि बढाए ।
७०औं मिनेटमा केनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै टोटेनहमलाई २–० को जित दिलाए । घरेलु मैदानमा टोटेनहमले डिनामोविरुद्ध बल पोसेसनमा समेत पकड बनाएको थियो ।
जितसँगै टोटेनहमले युरोपा लिगको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेगमा यही नतिजा कायम राख्न सके टोटेनहम अन्तिम आठमा प्रवेश गर्नेछ । डिनामोलाई अघिल्लो चरण प्रवेश गर्न निश्चित जित आवश्यक पर्नेछ । दोस्रो लेग डिनामोको मैदानमा १८ मार्चमा हुनेछ ।