धनगढी, २५ फागुन/ कर्णाली नदीमा हाम फालेका दैलेखआठविस नगरपालिकाकी सुकी बडुवाल सहित ४ छोराछोरी मध्ये दुई छोरीको शव फेला परेको छ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको दिन कर्णाली नदीमा हाम फालेका सुकी सहितका ४ मध्ये २ छोरीको शव माछा मार्नेहरूको जालमा परेर भेटिएको आठबिस नगरपालिकाकी उपमेयर दीपा बोहराले जानकारी दिइन।
‘श्रीमानले दिनहुँ मदिरा सेवन गरेर झगडा गर्ने गरेकै कारण सुकी सहितका छोराछोरी कर्णालीमा हाम फालेको स्थानीय छिमेकीले बताएका छन्’ उपमेयर बोहराले भनिन्, आमा सहित एक छोरी र छोराको शव फेला परेको छैन।
अछाममा रंजित विकले माछा पार्न नदीमा फालेको पासा जालमा मान्छेको शव परेको खबर दिएको अछामका प्रहरी सहायक निरीक्षक योगेन्द्र बलायरले जानकारी दिए। ‘थप अनुसन्धान भइरहेको छ,’उनले उकेरासँग भने, श्रीमानलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ।’
दुई छोरीको शव भेटिए पनि आमा, एक छोरी र एक छोराको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।